कांग्रेस–एमालेप्रति नै जनताको विश्वास र भरोसा : शंकर पोखरेल

कांग्रेस–एमालेप्रति नै जनताको विश्वास र भरोसा : शंकर पोखरेल



काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले जनताले नेपाली कांग्रेस–एमालेप्रति नै विश्वास र भरोसा गरेको बताएका छन् ।

शुक्रबार पार्टी मुख्यालय च्यासलमा पार्टीका तर्फबाट आगामी मंसिर ७ गते काठमाडौंमा आयोजना हुने जागरण सभा कार्यक्रमको जानकारी दिन आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले सो दाबी गरेका हुन् ।

महासचिव पोखरेलले प्रमुख दलहरुप्रति जनता असन्तुष्ट छन् भन्नेकुरा गलत हो भन्ने सन्देश दिन पनि पार्टीले सो जागरण अभियान सञ्चालन गर्न लागेको स्पष्ट पारे । नेपाली जनताले प्रमुख दलहरुबाट नै मुलुकमा सुधारको अपेक्षा गरेको महासचिव पोखरेलको जिकिर थियो । उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बचाउमा सो पार्टीले आन्दोलन गर्नु उचित नभएको पनि दोहोर्‍याए ।

महासचिव पोखरेलले भने, ‘ललितपुर, भक्तपुर र काठमाडौं जिल्ला कमिटीको अगुवाइमा जागरण अभियान कार्यक्रम हुँदैछ । उपत्यकामै आयोजना हुने कार्यक्रमकको माध्यमबाट सन्देश दिन चाहन्छौं, जनता प्रमुख दलहरुप्रति नै विश्वास र भरोसा गर्दछन । र उनीहरुबाटै सुधारको अपेक्षा गर्दछन् भन्ने सन्देश दिनु पनि जरुरी छ । त्यो हिसावले हामीले सभाको आयोजना गर्न खोजेका छौं ।’

महासचिव पोखरेलले सरकारलाई काम गर्नका लागि उचित वातावरण बनाउनका लागि सत्तारुढ कांग्रेस–एमालेले संघ, प्रदेश र स्थानीय तहमा संयन्त्र बनाउने काम गरेको पनि बताए । सो संयन्त्रले सरकारको काममाथि हस्तक्षेप नगर्ने उनको स्पष्टीकरण थियो ।