श्रीलंकामा एनपीपीले दुई तिहाई ल्याएकोमा एमालेले दियाे बधाई

श्रीलंकामा एनपीपीले दुई तिहाई ल्याएकोमा एमालेले दियाे बधाई



काठमाडौं । नेकपा एमालेले श्रीलंकामा हालै सम्पन्न संसदीय निर्वाचनमा २२५ स्थानमध्ये १५९ स्थान जितेर नेसनल पिपुल्स पावर (एनपीपी) पार्टीले दुई तिहाई बहुमत प्राप्त गरेकोमा बधाई दिएको छ ।

एमाले महासचिव शंकर पोखरेलले आइतबार विज्ञप्ति जारी गर्दै एनपीपीको जितले श्रीलंकामा राजनीतिक स्थायित्व, आर्थिक सुधार, सामाजिक न्याय र आत्मनिर्भरता अभिवृद्धि हुने विश्वास व्यक्त गरेका छन् ।

श्रीलंकामा करिब दुई महिनाअघि (२१ सेप्टेम्बर, २०२४) सम्पन्न राष्ट्रपतीय निर्वाचनमा पनि एनपीपीका नेता अनुराकुमार देशनायकेको विजय भएका थिए ।

‘हालै सम्पन्न संसदीय निर्वाचनमा पनि सोही पार्टीको विजयले श्रीलंकामा राजनीतिक स्थायित्व, आर्थिक सुधार, सामाजिक न्याय र आत्मनिर्भरता अभिवृद्धि हुने विश्वास नेकपा (एमाले) व्यक्त गर्दछ’, नेकपा एमालेले भनेको छ ।

‘निर्वाचनका माध्यमबाट जनताको मन जितेर उनीहरूको सेवा गर्न सकिन्छ भन्ने कुरालाई व्यवहारमा प्रमाणित गरेर कम्युनिस्ट आन्दोलनलाई अझ लोकप्रिय र विश्वासिलो बनाउनका लागि जनता विमुक्ति पेरामुना (जेभीपी), यसको अगुवाइमा स्थापित मोर्चा एनपीपी र राष्ट्रपति अनुराकुमार देशानायकेलाई सफलता प्राप्त हुनेछ भन्ने विश्वास हाम्रो पार्टी व्यक्त गर्दछ’, एमालेको विश्वास छ ।