काठमाडौं । निर्वाचन आयोगले मंसिर १६ गते उपनिर्वाचन हुने स्थानीय तहलाई ८ बुँदे निर्देशन दिएको छ । आयोगले सोमबार मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी रूपमा सम्पन्न गर्नका लागि उपनिर्वाचन हुने सबै स्थानीय तहहरूलाई ८ बुँदे निर्देशन दिएको हो ।
सोमबार बसेको आयोगको बैठकले सभागृह, अतिथिगृह, सवारी साधन, विद्युतीय उपकरणहरु मर्मत सम्भार गरी तयारी अवस्थामा राख्न निर्देशन दिएको आयोगकी प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन् ।
त्यस्तै मतदान केन्द्र राखिएका ठाउँको संरक्षण र मर्मत सम्भार गर्न, त्यहाँ खानेपानी, शौचालय, विद्युत, सञ्चार आवजावतको वैकल्पिक मार्ग, सडक र पुल पुलेसा, तथा कम्पाउण्डको व्यवस्था गर्न पनि भनेको छ ।
मंसिर ५ गतेदेखि मंसिर १६ गतेसम्म मदिराजन्य पदार्थ बिक्री वितरण र सेवन गर्न नपाइने व्यवस्था गर्न आयोगले सरकारलाई आग्रह गरेको छ ।
‘मिति २०८१।०८।०५ देखि मिति २०८१।०८।१६ गते उपनिर्वाचन सम्पन्न भई मतगणना कार्य सम्पन्न नभएसम्म उपनिर्वाचन हुने स्थानीय तहभित्र मदिराजन्य पदार्थ विक्री वितरण तथा सेवन नियन्त्रण गर्ने गराउने व्यवस्था मिलाउने,’ निर्वाचन आयोगले स्थानीय तह उपनिर्वाचन सुरक्षाबारे सोमबार गृह मन्त्रालयलाई लेखेको पत्रमा उल्लेख छ ।
प्रतिक्रिया