काठमाडौं । मुलुककाे विदेशी मुद्रा सञ्चिति २२ खर्ब ३२ अर्ब रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार असोजसम्म यस्तो सञ्चिति १६ अर्ब ६० करोड अमेरिकी डलर पुगेको छ ।
असार मसान्तसम्मको तुलनामा विदेशी मुद्रा सञ्चिति ९.४ प्रतिशत बढेको बैंकले जनाएको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा १९ खर्ब ८८ अर्ब छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक)सँग रहेको विदेशी विनिमय सञ्चिति २ खर्ब ४४ अर्ब २७ करोड पुगेको छ ।
२०८१ असोज मसान्तसम्मको् कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.९ प्रतिशत रहेको छ ।
हाल कायम रहेको विदेशी मुद्रा सञ्चितिले तीन महिनाको आयातलाई आधार मान्दा १७.६ महिनाको वस्तु आयात र १४.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ ।
३ महिनामा ४ खर्ब रुपैयाँभन्दा धेरै रेमिट्यान्स भित्रियो
चालू आर्थिक वर्षको तीन महिना साउन, भदौ र असोजमा चार खर्ब रुपैयाँभन्दा धेरै रेमिट्यान्स भित्रिएको छ ।
नेपाल राष्ट्र बैंककाे रिपोर्टअनुसार तीन महिनामा रेमिट्यान्स साढे ११ प्रतिशतले बढेर चार खर्ब सात अर्ब ३१ करोड रुपैयाँ पुगेको हो ।
तीन महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या एक लाख ७० हजार पाँच सय जना रहेको छ । यो अघिल्लो वर्षको तुलनामा झन्डै सात हजार जनाले कम हो ।
प्रतिक्रिया