जुम्लामा एउटै वडाबाट ३ करोडको सिमी उत्पादन

जुम्लामा एउटै वडाबाट ३ करोडको सिमी उत्पादन



जुम्ला । तिला गाउँपालिका-१ स्थित रारा गाउँमा यसवर्ष तीन करोड बराबरको सिमी उत्पादन भएको छ । गत वर्षभन्दा यो वर्ष सिमी उत्पादन ८० प्रतिशतले बढेको हो ।

जिल्लामै सबैभन्दा बढी सिमी उत्पादनको केन्द्रका रूपमा रारा गाउँ चिनिने गरेको वडा नं १ का वडाध्यक्ष जङगबहादुर बस्नेतले जानकारी दिए ।

विगतमा आठ क्विन्टलभन्दा बढी उत्पादन नहुने गरेकामा यस वर्ष बढी खेती गर्नेले १५ क्विन्टल र कम खेती गर्नेले चार क्विन्टलसम्म सिमी उत्पादन गरेका छन् । उनका अनुसार गत वर्षको तुलनामा यस वर्ष करिब ८० प्रतिशतले उत्पादन वृद्धि भएको हो ।

‍वडाध्यक्ष बस्नेतले गाउँमा सिँचाइको सुविधा पुर्‍याउन चालु आर्थिक वर्षमा वडा कार्यालयले ३० लाख बजेट विनियोजन गरेको जानकारी दिए । यसअघि सिँचाइको सुविधा नहुँदा यहाँका किसानलाई आकासे पानीको भर पर्नुपरेको थियो । गाउँमा पानी पुर्‍याउन स्थानीय सरकारले निरन्तर योजना बनाएर कार्यान्वयन गरिरहेको उनको भनाइ छ ।

सिमी बढी उत्पादन हुने वडा नं १ मा २९० परिवार छन् । अहिले गाउँमा पुगेर व्यापारीले प्रतिकेजी दुई सयका दरले सिमी खरिद गर्ने गरेका राराका स्थानीय नर रावतले जानकारी दिए ।

वडालाई सिमी उत्पादनको पकेट क्षेत्रसमेत मानिएको छ । सिमी लगाउने र फल्ने मौसममा वर्षा हुनुका साथै सहज सिँचाइ सुविधा भएपछि उत्पादनमा वृद्धि भएको उनको भनाइ छ ।

गाउँका किसानलाई लक्षित गरेर ‘एक गाउँ एक उत्पादन’को रणनीति ल्याएर स्थानीय तहले काम गरिरहेको छ । गाउँबाट सबैभन्दा बढी सिमी उत्पादन गर्ने किसानलाई प्रोत्साहनसमेत गरिने तिला गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले बताइन् ।

उक्त वडाको मुख्य आम्दानी सिमी र स्याउ हो । अब सिमी र स्याउ खेतीलाई थप प्रवर्द्धन गर्न गाउँपालिकाको तर्फबाट यहाँका किसानलाई अनुदान उपलब्ध गराइने उनको भनाइ छ ।

सिमीको पकेट क्षेत्र भनेर प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ जुम्लाले तिला-१ रारालाई सिमी जोन कार्यक्रम लागू गरेको छ ।

उक्त पालिको वडा नं १ सहित २, ८ र ९ वडाको ८०० हेक्टर क्षेत्रफलमा सिमीको व्यावसायिक उत्पादन तथा प्रशोधन केन्द्रको विकास गर्न सिमी जोन कार्यक्रम सञ्चालन गरिएको जिल्लास्थित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइका प्रमुख खेमराज शाहीले जानकारी दिए ।