काठमाडौं । नेपाली कांग्रेसले चिनियाँ सरकारले यसअघि प्रतिबद्धता गरेको अनुदान नै कार्यान्वयन नगरेकाले ऋणतर्फ जान नहुने बताएकाे छ ।
कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आज कांग्रेसले गरेको नेपालको विद्यमान आर्थिक अवस्था र सुधारका उपायहरुबारे छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै चिनिया परियोजना विआरआईबारे कांग्रेसको दोहोरो नीति नभएको प्रष्ट पारे ।
उनले भने, ‘विआरआईबारे कांग्रेसको दोधारे नीति छैन, हामीले ऋण लिन हुँदैन भनेका हौं । हामीले अहिले अनुदान सहयोगमा जोड दिएका छौं । चिनियाँ सरकारले अनुदानको प्रतिबद्धता गरेको धेरै बर्ष भइसक्यो, कार्यान्वयन भएको छैन । अनुदान नै कार्यान्वयन भएको छैन, अनि ऋणको कुरा गरेर के अर्थ, हाम्रो ऋणको भार पनि धेरै भएको छ, चिनियाँ सरकारसँग मात्रै होइन, कुनै सरकारसँग पनि ऋण लिने बाटोमा जान हुँदैन ।’
उनले विआरआइ अन्तर्गत नै अनुदान सहयोग दिन आग्रह गरे । ‘बीआरआई फ्रेमवर्कको जुन कुरा भइराखेको छ, त्यसमा अरु रणनीतिक सुरक्षाका कोण, अरुखाले विषयवस्तुहरु एउटा प्लटमा जान खोजेको हो कि या के हो ? भन्नेचाहिँ हिसाबको कुरा हुनुपर्छ भन्ने हाम्रो कुरा हो’, उनले भने, ‘खास गरेर अहिले अनुदान नै कार्यान्वयन गर्नुपर्छ, बीआरआई अन्तर्गतकै अनुदान कार्यान्वयन गर्नुपर्छ, ऋणचाहिँ लिन हुँदैन भन्ने हो ।’
छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, परराष्ट्रमन्त्री आरजु राणा देउवा, नेताहरु प्रकाश शरण महत, उदय शम्शेर राणा, चीनकाजी श्रेष्ठ लगायत सहभागी थिए ।
प्रतिक्रिया