काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालमा लोडसेडिङको अन्त्य गर्ने कामको नेतृत्व नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेको दाबी गरेका छन् ।
पार्टीले शुक्रबार राजधानीको दरबारमार्गमा आयोजना गरेको जागरण सभामा सम्बोधन गर्दै महासचिव पोखरेलले लोडसेडिङ अन्त्यको जस अरूले लिएको गुनासो गरे ।
उनले भने, ‘दैनिक १८ घण्टा लोडसेडिङ हुन्थ्यो, केपी ओली प्रधानमन्त्री भएपछि नेपालको जलस्रोतमा देखिएका समस्या समाधान गरेर आधारभूत लोडसेडिङ एक वर्षभित्र हल गर्ने योजना तयार गर्ने प्रधानमन्त्रीका रूपमा केपी शर्मा ओली रहनुभयो ।’
उनले भारतबाट विद्युत् आयात गरेर नेपालबाट लोडसेडिङको युग अन्त्य गरेको तर्क गरे । ‘अध्यक्ष ओलीको त्यही योजनाको परिणामस्वरुप हामीले भारतबाट अन्तरदेशीय ट्रान्समिसन लाइन निर्माण गरेर, विद्युत आयात गरेर नेपाललाई अँध्यारो समयबाट उज्यालो युगतर्फ फर्काउने कामको नेतृत्व गर्यौं,’ उनले भने ‘तर बिडम्बनाको कुरा काम एउटाले गर्छ जस अर्कोलाई दिने हाम्रो समाजको परम्परा बन्न पुगेको छ ।’
महासचिव पोखरेलले पार्टीलाई समाप्त पार्नका लागि अनेक प्रपञ्च भइरहेको बताए । तर, एमाले देश बनाउने अभियानमा रहेको सच्चाइलाई आम जनताले बुझ्नुपर्ने उनको भनाइ छ ।
उनले भने, ‘विकास र समृद्धिको अभियानमा होस् या सामाजिक सुरक्षासहितको लोककल्याण्कारी राज्य स्थापनामा एमालेले पहल गर्दै आएको छ । तर हाम्रो पार्टीलाई समाप्त पार्नका लागि अनेक प्रकारका प्रपञ्चहरू भइरहेका छन् ।’
पहिले महाकाली सन्धिका नाममा पार्टीलाई विभाजन गर्न स्मरण गर्दै उनले अहिले पनि यस्तै प्रपञ्चहरू जारी रहेको उनले बताए ।
‘नेकपा (एमाले)लाई चौतर्फी आक्रमण र घेराबन्दी गरिँदै आएको छ। एमालेलाई समाप्त पार्नका लागि अनेक प्रकारका षड्यन्त्र गरिएको छ । कहिले महाकाली सन्धिका नाममा एमालेलाई विभाजन गर्ने दुष्प्रयत्न गरियो । महाकाली सन्धि वास्तवमा नेपालको राष्ट्रहितको विपक्षमा हुन्थ्यो भने त्यो सन्धि उहिल्यै कार्यान्वयनमा गइसकेको हुन्थ्यो । नेपालको इतिहासका जलस्रोतको उपयोगको सन्दर्भमा त्यो सबैभन्दा राष्ट्रवादीका रूपमा एकीकृत महाकाली सन्धिका रूपमा अगाडि बढाउनका लागि प्रयत्न गर्दा हाम्रो पार्टीलाई बदनाम गर्ने कोसिस मात्र भएन, विभाजनसमेत गरियो,’ उनले भने ।
तर चट्टान बनेर खडा भएका कार्यकर्ता पंक्तिले विभाजन गरेको पार्टीलाई एकताबद्ध बनाएको महासचिव पोखरेलको भनाई छ ।
प्रतिक्रिया