जनकपुर । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले राष्ट्रियस्तरमा छलफल नगरी बिआरआई सम्झौतामा हस्ताक्षर गर्न नहुने बताएका छन् ।
जनकपुरमा शुक्रबार पत्रकारहरूसँग कुराकानी गर्दै प्रतिनिधि सभा सांसदसमेत रहेका निधिले हतारमा सम्झौता गरेर पछुताउनुभन्दा विस्तृत रूपमा छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्ने बताएका हुन् ।
‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ (बिआरआई) चिनियाँ नीति रहेको र नेपालले आसन्न प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा के गर्छ भन्ने विषय चासोका साथ हेरिएको उनले बताए ।
‘बिआरआई चिनियाँ पोलिसी हो, त्योअन्तर्गत हाम्रो स्ट्याण्ड चर्चाको विषय छ । प्रधानमन्त्री ओलीको भ्रमणको विषयमा के-के कुरा सही गर्ने? के-के कुरा सम्झौता गर्ने भन्ने विषयमा । नेपाली कांग्रेसको सुरूदेखि नै आधिकारिक विषय के छ भने चीनबाट हामीले बिआरआई प्रोजेक्टअन्तर्गत लिने कुनैपनि विकासका कुराहरूमा अनुदान मात्रै लिन्छौं । लोनमा हामी जाँदैनौँ, मुल विषय त्यही हो,’ उनले भने ।
उनले सभापति शेरबहादुर देउवाले चीन जाँदा ऋणमा हस्ताक्षर नगर्न भनेको पनि उनले बताए । ‘हाम्रो तर्फबाट शेरबहादुरजीले र पार्टीले प्रधानमन्त्रीज्यूलाई भनिसक्नुभएको छ- चीन जाँदाखेरी अनुदान बाहेक लोनमा सही नगर्ने भनेर । बिआरआई प्रोजेक्टको बारेमा हाम्रो धारणा के हो भने यसको बारेमा व्यापक, विस्तृत छलफल हुनुपर्छ, राष्ट्रियस्तरमा छलफल हुनुपर्छ । त्यतिमात्रै होइन, म त अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति छु । बिआरआई प्रोजेक्ट नेपालको हितमा छ की छैन? बिआरआई पोलिसीअन्तर्गत केके विषय हो, त्यसको बारेमा व्यापक छलफल हुनुपर्छ,’ निधिले भने ।
प्रतिक्रिया