काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस र एमालेको सहकार्य ०८४ सम्म हुने बताएका छन् ।
उनले पार्टीले शुक्रबार राजधानीको दरबारमार्गमा आयोजना गरेको जागरण सभामा सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
“कान खोलेर सुने हुन्छ सबै कुरा बुझे हुन्छ ०८४ सम्म गठबन्धन कायमै रहन्छ,” उनले भने, “०८३ असारमा शेरबहादुर देउवाजीलाई सरकार जिम्मा लगाउँछु । अब मैले १८ र शेरबहादुर देउवाजीले १८ महिना सरकार चलाउछौँ ।”
यो सरकार बन्दै बन्दैन भन्नेहरू अहिले पनि फरवरीको भाका राख्दै गरेको प्रधानमन्त्री ओलीको भनाइ छ । ‘फरवरीको भाका राख्दैछन् । तर हाम्रो सत्ता समीकरण ०८४ सम्म जान्छ’, प्रधानमन्त्री ओलीले भने । भ्रम छर्नेहरूले भाका सार्दै सरकारको आयुको मिति तोक्ने गरेको उनले बताए ।
अराजकता मच्याउने र संविधान मास्न खोज्ने प्रवृत्ति बढेपछि कांग्रेस र एमाले मिल्नुपरेको ओलीले प्रस्ट पारे । ओलीले नेकपा एमाले र कांग्रेस प्रतिस्पर्धी पार्टी भए पनि अहिले प्रतिस्पर्धाभन्दा एकताको आवश्कयता रहेको बताए ।
उनले नेपाली जनता कुहिरोको काग बनेर कुद्न तयार नभएको बताए ।
प्रधानमन्त्री ओलीले कांग्रेस-एमालेको समीकरण र सरकारलाई कसैले हल्लाउन नसक्ने बताएका छन् । उनले कांग्रेस-एमालेको समीकरण स्वार्थरहित तरिकाले बनेकाले सरकारलाई कसैले हल्लाउन नसक्ने बताएका हुन् ।
‘एमालेलाई कसैले हल्लाउन सक्दैन । अहिलेको समीकरण र सरकारलाई पनि कसैले हल्लाउन सक्दैन,’ उनले भने, ‘यो सरकार कमिसनखोरी र भ्रष्टाचार गरेर पैसा कमाउन र आफ्ना मान्छे भर्ती गरेर अकुत सम्पत्ति कुम्ल्याउन बनेको होइन ।’
प्रतिक्रिया