मृत्युपछि अंगदान गर्ने दाताका परिवारलाई २ लाख रुपैयाँ दिने स्वास्थ्यमन्त्रीकाे निर्णय

मृत्युपछि अंगदान गर्ने दाताका परिवारलाई २ लाख रुपैयाँ दिने स्वास्थ्यमन्त्रीकाे निर्णय



काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले मृत्युपछि मानव अंगदान गर्ने दाताका परिवारलाई दुई लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेका छन् ।

यसअघि सरकारले मानव अंगदान गर्न चाहने परिवारलाई एक लाख रुपैयाँ दिने गरेको थियो । भक्तपुरको मानव अंग प्रत्यारोपण केन्द्रमार्फत एक लाख रुपैयाँ दिने गरिएकोमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दाताका परिवारलाई एक लाख रुपैयाँ थप गर्ने निर्णय गरेको हो ।

मन्त्री पौडेलको निर्णय कार्यान्वयनमा अर्थ मन्त्रालयले आन्तरिक स्राेतबाट व्यवस्थापन गर्ने गरी सहमति दिएको छ । मन्त्रालयको आन्तरिक स्राेतबाटै आवश्यक रकम व्यवस्थापन गर्ने गरी निर्णय गरिएको मन्त्री पौडेलले बताए ।

यस्तै अंगदानमा सघाउने अस्पताललाई यसअघि दिइने ५० हजार रुपैयाँमा मन्त्रालयले २५ हजार रुपैयाँ थप गरेर ७५ हजार रुपैयाँ पुर्‍याएको छ । आफ्नो मृत्यपुपछि अरूको जीवन बचाउन चाहनेलाई प्रोत्साहन गर्न खोजेको स्वास्थ्यमन्त्री पौडेलले बताएका छन् ।