ओलीकाे आलोचना गर्ने सांसद चौधरी एमालेको साधारण सदस्यबाट निलम्बित

ओलीकाे आलोचना गर्ने सांसद चौधरी एमालेको साधारण सदस्यबाट निलम्बित



काठमाडौं । नेकपा (एमाले)ले पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलकाे आलोचना गरेको भन्दै लुम्बिनी प्रदेश सांसद दुर्गा चौधरीलाई पार्टीबाट हटाएको छ । मंगलबार एमाले बाँके जिल्ला अध्यक्ष निरक गुरुङले प्रदेश सांसद चौधरीलाई पार्टीबाट हटाएको पत्र पठाएका छन् ।

पत्रमा स्पष्टीकरण सोध्दा पार्टीविरुद्ध जवाफ दिएको भन्दै निलम्बन गरिएको उल्लेख छ ।

“स्पष्टीकरणको जवाफ दिने सन्दर्भमा आफ्ना कमी कमजोरीप्रति महसुस गर्नुको साटो उल्टै पार्टी नेता, कार्यकर्ता र समग्र पार्टीका विरुद्धमा लिखित जवाफ दिनुभएको हुँदा तपाईंलाई पार्टी विधानको धारा ८१ (७) को अनुशासनको कारबाहीको व्यवस्थाअनुरूप पार्टी सदस्यताबाट निलम्बन गरिएको जानकारी गराउँदछु,” उनले प्रदेश कमिटी र पार्टी केन्द्रीय कार्यालयलाई बोधार्थ दिएर पठाएको पत्रमा उल्लेख छ ।

चौधरी बाँके क्षेत्र नम्बर १ (ख) बाट मा लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित सांसद हुन् ।

माओवादीबाट एमाले आएका चौधरी यसअघि प्रदेश कमिटी उपसचिव थिए । तर गत वर्ष सम्पन्न प्रदेश अधिवेशनमा उनी उपसचिव पदमा पराजित भए ।

उपसचिव पराजित भएपछि उनले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलको चर्को आलोचना गर्दै आएका थिए । सार्वजनिक आलोचना गरेकै कारण चौधरीलाई बाँके एमालेले स्पष्टीकरण सोधेको थियो ।

‘स्पष्टीकरणको जवाफ दिने सन्दर्भमा आफ्ना कमी कमजोरी प्रति महशुशीकरण गर्नुको साटो उल्टै पार्टी नेता, कार्यकर्ता र समग्र पार्टीका विरुद्धमा लिखित जवाफ दिनु भएको हुँदा तपाईलाई पार्टी विधानको धारा ८१ (७) को अनुशासनको कार्बाहीको व्यवस्था अनुरुप पार्टी सदस्यबाट निलम्बन गरिएको जानकारी गराउँदछु’, अध्यक्ष गुरुङले पठाएको पत्रमा उल्लेख छ ।