हेटौँडा-१२ मा तीन दलका उम्मेदवारबीच नै मुख्य प्रतिस्पर्धा

हेटौँडा-१२ मा तीन दलका उम्मेदवारबीच नै मुख्य प्रतिस्पर्धा



हेटौँडा । हेटौँडा उपमहानगरपालिका–१२ मा यही मंसिर १६ गते हुने वडाध्यक्षको उपनिर्वाचनमा भोट माग्न उम्मेदवारहरू घरदैलोमा जुटेका छन् ।

चुनावी मैदानमा उत्रिएका सबै उम्मेदवार र दलका नेता मतदातालाई आफ्नो पक्षमा पार्न लागिपरेका छन्। सबै उम्मेदवारले वडामाका समस्या समाधान गरी विकास–निर्माणलाई पहिलो प्राथमिकतामा राखेको बताउँदै आएका छन् ।

गत २०७९ वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनबाट सो वडाको वडाध्यक्षमा निर्वाचित ललितबहादुर घलान जिल्ला समन्वय समिति मकवानपुरको प्रमुखमा निर्वाचित भएपछि वडाध्यक्ष पद रिक्त छ । रिक्त वडाध्यक्षका लागि उपनिर्वाचन हुन लागेको छ ।

हेटौँडा उपमहानगरपालिका–१२ को उपनिर्वाचनका लागि नेपाली कांग्रेसले अर्जुन तिवारी, नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले राजेश नगरकोटी र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले रविन प्रधानलाई उम्मेदवार बनाएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा )र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि ठूला दललाई चुनौती दिँदै चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

रास्वपाले आशावीर बल, एकीकृत समाजवादीले बलराम बल र राप्रपाले प्रेम लामालाई उम्मेदवार बनाएर चुनावी प्रतिस्पर्धामा छन् ।

सो वडामा उपनिर्वाचनका लागि ९ दलका नौ जना र स्वतन्त्र तीन जना गरी १२ जना उम्मेदवार चुनावी मैदानमा रहेका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मुख्य दलबीच नै प्रतिष्पर्धा हुने

गत २०७९ वैशाखमा भएको स्थानीय तह निर्वाचनमा मुख्य तीन दलबीच तीव्र प्रतिस्पर्धा भएकामा अहिले पनि कडा प्रतिस्पर्धा हुने छ ।

माओवादी केन्द्रलाई आफ्नो पुरानो साख जोगाउने चुनौती छ भने एमाले र कांग्रेसलाई पनि यो वडा प्रतिष्ठाको विषय बनेको छ । गत २०७९ वैशाखमा सम्पन्न निर्वाचनमा माओवादी केन्द्रका ललितबहादुर घलानले एक हजार ३७१ मत ल्याएर विजयी भएका थिए ।

उनका प्रतिस्पर्धी कांग्रेसका अर्जुन तिवारीले एक हजार ३४० मत ल्याउँदा एमालेका राजेश नगरकोटीले एक हजार ३२५ मत ल्याएका थिए ।

माओवादी केन्द्रबाट नयाँ उम्मेदवार हुँदा कांग्रेस र एमालेले पुरानै उम्मेदवारलाई मैदानमा उतारेका छन् । यसले यहाँ चुनावलाई रोचक बनाएको छ ।