काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह उपनिर्वाचनका लागि काठमाडौं महानगरपालिका १६ र कीर्तिपुर नगरपालिकामा आचारसंहिता अनुगमन टोली खटाएको छ ।
उपनिर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्ने उद्देश्यले आयोगले यही मङ्सिर २ गतेदेखि निर्वाचन आचारसंहिता लागू गरेको थियो ।
आयोगका सहसचिव एवम् प्रवक्ता नीता पोखरेल अर्यालले निर्वाचन प्रचारप्रसारका क्रममा उक्त आचारसंहिता पालना भए नभएको अनुगमन गर्न काठमाडौं १६ र कीर्तिपुर नगरपालिकामा अनुगमन टोली खटाएको जानकारी दिए ।
प्रवक्ता अर्यालका अनुसार काठमाडौं–१६ मा सहसचिव नारायणप्रसाद सापकोटा, सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) दिग्विजय सुवेदी, उपसचिव (कानुन) सीता पुन श्रीष र प्रहरी उपरीक्षक (एसपी) सञ्जयसिंह थापालाई अनुगमनका खटाइएको छ ।
यसैगरी, कीर्तिपुर नगरपालिकामा नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक रेग्मी, उपसचिव डा. थानेश्वर भुसाल, उपन्यायाधिवक्ता केदारकुमार अधिकारी र सशस्त्र प्रहरीका उपरीक्षक (एसपी) अशोक न्यौपानेलाई खटिइएको जानकारी उनले दिए ।
प्रतिक्रिया