दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिट खारेज

दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिट खारेज



काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको पक्राउविरुद्धको बन्दीप्रत्यक्षीकरण रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ ।

बुधबार सर्वोच्चका न्यायाधीशहरू महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेको इजलासले प्रसाईंका छोरा निराजनले दायर गरेको रिट खारेज गरिदिएकाे हाे । इजलासले रिट खारेज गर्दै निर्देशनात्मक आदेश जारी गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियाको टेलिकम कम्पनीमा ३२ अर्ब बढीको सेयर रहेको भन्दै प्रसाईंले पत्रकार सम्मेलन गरेका थिए । उक्त तथ्य सार्वजनिक भएपछि प्रहरीले भक्तपुरस्थित निवासबाट प्रसाईंलाई यही मंसिर ४ मा पक्राउ गरेको थियो ।

काठमाडौं जिल्ला अदालतले प्रसाईंलाई दोस्रोपटक म्याद थप गरी अनुसन्धानको अनुमति दिएपछि उनी हिरासतमै छन् । अदालतकै आदेशमा पछिल्लो समय भने उनी प्रहरीको निगरानीमै अस्पताल बसेका छन् ।

प्रसाईंविरुद्ध विद्युतीय अपराध, सम्पत्ति शुद्धीकरणसहितका आरोपमा अनुसन्धान भइरहेको छ ।