ट्रम्पले रुस र युक्रेन मामिलाका लागि रिटायर्ड जर्नेललाई नियुक्त गरे विशेष दूत

ट्रम्पले रुस र युक्रेन मामिलाका लागि रिटायर्ड जर्नेललाई नियुक्त गरे विशेष दूत



काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेन मामिलाका लागि विशेष दूत नियुक्त गरेको घोषणा गरेका छन् । ट्रम्पले पूर्वराष्ट्रिय सुरक्षा सल्लाहकार एवं अवकाशप्राप्त लेफ्टिनेन्ट जर्नेल किथ केलाङलाई विशेष दूत नियुक्त गरेका हुन् ।

यससँगै केलाङले रुस र युक्रेनबीच जारी युद्ध समाप्त गर्नका लागि हुने सम्भावित वार्ताहरूमा मुख्य भूमिका निर्वाह गर्ने सम्भावना छ । केलाङ पनि रुस युक्रेनबीचको वार्ताका समर्थक हुन् ।

ट्रम्पले चुनावी र्‍यालीहरूमा आफूले कार्यभार सम्हालेलगत्तै रुस युक्रेन युद्ध समाप्त गर्ने घोषणा गरेका थिए । जसका कारण उनले केलाङ्गलाई विशेष दूत नियुक्त गर्नुलाई महत्त्वका साथ हेरिएको छ । यद्यपि, यसबारेमा थप जानकारी भने नदिइएको बीबीसीले समाचारमा उल्लेख गरेको छ ।

केलाङ रुससँगको शान्तिवार्ताका लागि युक्रेनमाथि दबाब बढाउनुपर्ने पक्षमा मत राख्छन् । यो सर्तमा मात्र युक्रेनलाई अमेरिकाले सहयोग गर्नुपर्ने उनको मान्यता रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । यदि मस्को शान्तिवार्ताका लागि तयार नभएको अवस्थामा भने अमेरिकाले युक्रेनलाई दिने सहयोग बढाउनुपर्ने उनको मान्यता छ ।