कीर्तिपुरको उपनिर्वाचन जनमतसंग्रह नै हो : राजेन्द्र पाण्डे

कीर्तिपुरको उपनिर्वाचन जनमतसंग्रह नै हो : राजेन्द्र पाण्डे



काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले कीर्तिपुर नगरपालिकाको उपनिर्वाचन देशका निम्ति जनमतसंग्रह नै भएको बताएका छन् । बिहीबार नःगाउँ दोबाटोमा आयोजित चुनावी सभामा उनले नेकपा (माओवादी केन्द्र)का उम्मेदवार शिवशरण महर्जनलाई मतदान गर्न आह्वान पनि गरे ।

कीर्तिपुरमा मात्र मेयर पदमा उपनिर्वाचन हुन लागेकाले यो जनमतसंग्रह नै भएको उनले टिप्पणी गरे । ‘देशभर ४२ वटा स्थानीय तहमा उपनिर्वाचन हुँदैछ । त्यसमध्ये नगरपालिकाको प्रमुखको निर्वाचन यहाँ मात्रै हुँदैछ । गाउँपालिकाको अध्यक्ष, मोरङमा, उपाध्यक्षहरू, वडाध्यक्षहरूको चुनाव विभिन्न ठाउँमा छन् । हामीलाई नेपाली जनता हेर्दैछन्, कि नेपाली जनता कसको पक्षमा छन् । यो चुनाव, यो कीर्तिपुरको चुनाव अहिलेको अवस्थाका लागि भन्ने हो भने एउटा किसिमको जनमत संग्रह नै हो,’ उनले भने ।

उपाध्यक्ष पाण्डेले कीर्तिपुर क्रान्तिको थलो भएको बताए । ‘२००७ साल, २०३६, २०४६ साल होस् कि, २०६२–०६३ आन्दोलन होस् हरेक समयका कीर्तिपुर रगत बगाएको छ । यो रगतको सम्मान गर्नका लागि, सलाम गर्नका लागि म यहाँ आएको छु । क्रान्तिका केन्द्रका मतदाताले आफ्नो मतलाई सहीठाउँमा खसाल्नु पर्छ,’ उनले भने ।

कीर्तिपुरमा एकीकृत समाजवादीले माओवादीका उम्मेदवारलाई सघाउने सहमति छ । र, काठमाडौं महानगरपालिका–१६ को वडाध्यक्षमा माओवादीले एकीकृत समाजवादीका उम्मेदवारलाई सघाउने सहमति यसअघि नै भइसकेको छ ।

पाण्डेले भ्रष्टाचारविरुद्ध आफूहरू एक ठाउँमा भएको बताए । “दुई ठूला पार्टी मिलेर सरकार बनाएका छन् । सबै काण्ड छोप्न सरकार बनाएका छन्,” उनले भने, “हामी भ्रष्टाचारको विरुद्धमा, अव्यवस्थाको विरुद्धमा, देशलाई लुट्नेका विरुद्ध हामी दुई पार्टी एक ठाउँमा छौँ,” उनले भने ।