विश्नोईको नाम लिएर व्यवसायीलाई धम्क्याउने दुर्गा प्रसाईंका सहयोगी पक्राउ

विश्नोईको नाम लिएर व्यवसायीलाई धम्क्याउने दुर्गा प्रसाईंका सहयोगी पक्राउ



काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले भारतीय गुण्डा नाइकेको नाम लिएर व्यवसायीलाई धम्क्याएको आरोपमा एक जनालाई पक्राउ गरेको छ । ब्युरोले हरिचन्द्र फुयाँल नामका व्यक्तिलाई नेपाल-भारत सीमा नाकाबाट पक्राउ गरेर काठमाडौं ल्याएको हो ।

सीआईबीका प्रवक्ता होविन्द्र बोगटीका अनुसार फुयाँलले सीमापारी गएर नेपालका व्यापारीहरूलाई विस्नोइ (भारतको आपराधिक गिरोह) को नाम लिँदै धम्क्याउने र पैसा असुल्ने प्रयास गर्थे । उनी दुर्गा प्रसाईंबाट परिचालित देखिएको बोगटीले बताए ।

‘दुर्गा प्रसाईंको निर्देशनमा काम गर्ने रहेछन् । पारीपट्टि जाने, ग्रुप बनाएर व्यापारीहरूलाई फोनबाट धम्की दिने, पैसा असुल्न खोज्ने गरेको पाइएको छ,’ उनले भने । केही व्यापारीहरूले भारतीय नम्बरबाट विस्नोइको नाममा धम्की आएको भन्दै प्रहरीमा उजुरीसमेत दिएका थिए ।

फुयाँल घ्यू व्यापारी रहेकाे पाइएकाे छ । उनी इलामको घ्यू भारतको आसाममा लगेर बेच्ने गर्थे । फुयाँललाई आपराधिक लाभमा अनुसन्धानका लागि म्याद थप गर्न लागिएको छ ।

यता प्रसाईंलाई पनि प्रहरीले हिरासतमा लिएर विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गत अनुसन्धान गरिरहेको छ । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाको टेलिकममा लगानी गरेको भन्दै आरोप लगाएका थिए ।

लरेन्स विश्नोई भारतमा पछिल्लो समय चर्चामा रहेका गुण्डा नाइके हुन् । उनी हाल भारतको जेलमा छन् । उनले आफ्नो समूह जेलभित्रैबाट परिचालन गर्दै आएका छन् । उनको समूहमा ७ सयभन्दा धेरै जना मानिस रहेको भारतीय सञ्चार माध्यमले जनाएको छ । क्यानडा, इटाली, अस्ट्रेलियासम्म उनको पहुँच रहेको समाचारमा उल्लेख छ ।