२०८१ सालको दशैंको समयमा कान्तिपथ हुँदै मोरङको यात्रा मेरो जीवनमा एकदमै विशेष बनेको छ। यो वर्षको बाढीले बिगारेको सडक र कष्टपूर्ण यात्रा भएपनि त्यो एक अनौठो अनुभव भयो। जसले मलाई प्रकृतिको शक्ति र मानवीय सहनशीलता सम्झायो। मानसपटलमा त्यो यात्रा ताजै छ । कान्तिपथ पार गर्दै गर्दा मैले देखेका दृश्यहरूले प्रकृतिको शक्तिबारे सोच्न बाध्य पारे । बाढीले तोडफोड गरेको सडक र डुबेका खेतहरूका कारण मानिसहरूको जीवनमा गहिरो असर परेको थियो।
अन्तत: म मोरङ पुगे। मोरङको दृश्यले मलाई थोरै सहज तुल्यायो । सडक राम्रो र कति सुन्दर थिए । दशैंको पर्वको रौनक र माया पाए। परिवारसँगको भेटघाट मित्रहरूको साथ र रमाइलो खानपानले मेरो यात्रालाई पूर्ण बनायो।
मोरङ जिल्लाको दक्षिण बेल्टमा बाल्यकालको साथी राधा मण्डलको घर छ। जुन सुनबर्सी नगरपालिका हो। साथीहरूसँगको भेटघाट मेरा लागि अविस्मरणीय हुन्छ । मैले साथी राधासँग बिताएका पलहरू झलझली सम्झन्छु। राधा मेरो बाल्यकालदेखि मिल्ने साथी हुन्। उनी हाल आफ्नो गाउँमै एक सफल शिक्षिका पनि हुन् र कृषि व्यवसाय पनि हुन्। हामी दुईबीच निकै समयदेखि भेट भएको थिएन । उनको निमन्त्रणामा म एकदिन उनको घर गए ।
सिटी सवारीको यात्रा गर्दै हामी विराटनगर जोगबनी गयौँ । जोगमनीमा राधा र मैले घरायसी सामानहरू खरिद गर्यौ । स्कुलकी साथी जमुनाले (हाल नाम परिवर्तन गरेर निशा) बेलुकाको खानाको लागि निमन्त्रणा गरेकी थिइन्। हामी उनको निमन्त्रणा स्वीकार गर्दै उनको घर गयौँ। जमुना, राधा र म स्कुलका साथी हौँ।
साथी जमुनाको घरमा राधा र म पुगेपछि मैले महसुस गरे छोरा विराट संग्रौला र बुहारी रुसाली प्रसाईले गरेको त्यो हामीप्रतिको सम्मान अझै स्मरणीय छ। आथित्य र सरल स्वभाव जीवनका ती साना तर गहिरा पलहरू थिए। जसले सधैँ मेरो हृदयमा आनन्द दिन्छ, तिमीले सिकाएको माया र मित्रताको अर्थ आज पनि मलाई प्रेरणादायक छन् । जमुनाको घरमा बिताएका ती साथ ती क्षणहरू मेरा लागि जीवनको अमूल्य स्मृति हुन् । धेरैधेरै हार्दिक धन्यवाद तिम्रो मित्रताको लागि अनि तिम्रो परिवार राजन संग्रौलाज्यू छोरा विराट र बुहारी रुसालीलाई ।
त्यो दिन न जाडो न गर्मी महिनाको बिहान थियो, असोज दशैंको । जमुना र उनका श्रीमान राजन संग्रौलाले धरान विजयपुरको भ्रमण गर्ने योजना बनाउनुभएको थियो। हामी सबैको अनुहारमा धरान विजयपुर पिण्डेश्वरी, दन्तकाली , बुढासुब्बाको दर्शन गर्ने उत्साह देखियो। हामी बिहानै धरानतिर लाग्यौँ। जमुना, राजन संग्रौला, राधा मण्डल र म। राधाको मिठामिठा बेलाबेलाको टुक्का सुन्दै खलल्ला हाँस्दै र गफ गर्दै हाम्रो यात्रा सुरु भयो।
धरानको विजयपुर पुग्ने बित्तिकै हाम्रो पहिलो यात्रा पिण्डेश्वरी मन्दिर भयो । जुन मन्दिरमा हामीलाई प्राचीन स्वरूप र शक्तिशाली ऊर्जा महसुस भयो। हामीले पिङ खेल्यौँ एकछिन रमाइलो गर्यौ त्यहाँका स्थानीयहरूको अनुभव सुन्दै समय बितायौ र पिण्डेश्वरीको दर्शन गरेपछि हामीले त्यहाँ छेवैमा सेलरोटीको पसलमा सेल, चिया, तरकारी, अचार खायौ, त्यो स्वाद अहिलेसम्म जिब्रोमै झुण्डिएको छ । त्यो पिण्डेश्वरीको सेल प्रख्यात रहेछ।
स्वादको लागि सम्झनाका तस्बिरहरू आफ्नो मोबाइलबाट कैद गर्दिन राजन संग्रौलाज्यूले हामीलाई मद्दत गर्नुभएको थियो । पिण्डेश्वरी मन्दिर धरान विजयपुरको सुनसरी जिल्लामा अवस्थित छ। एक प्रसिद्ध धार्मिक स्थल हो। यो मन्दिर विशेषगरी शक्तिपीठका रुपमा पूजनीय छ। हिन्दू धर्मावलम्बीहरूको लागि गहिरो सांस्कृतिक तथा आध्यात्मिक महत्व राख्दछ । पिण्डेश्वरी मन्दिरलाई शक्ति र मातृशक्तिको प्रतीक मानिँदो रहेछ।
यो स्थानमा देवी दुर्गाका विभिन्न रूपहरू पुजिन्छ विशेषगरी नवरात्रको समयमा ठूलो भिड लाग्ने गर्दछ। मान्यता छ कि यहाँ पूजा गर्दा मनका इच्छा पूरा हुन्छन् स्थानीयहरूले यो मन्दिरलाई आफ्नो रक्षकका रूपमा हेर्दछन् पिण्डेश्वरी मन्दिर विजयपुरको पुरानो दरबार क्षेत्रसँग जोडिएको छ। इतिहासकारका अनुसार विजयपुर राज्यको समयमा यो मन्दिर राजाहरूको आस्था र श्रद्धाको मुख्य केन्द्र थियो।
स्थानीयका अनुसार यो स्थलमा देवीको शक्ति आफ्नै रूपमा प्रकट भएको थियो जसका कारण यो स्थान शक्तिपीठका रूपमा परिचित छ। पिण्डेश्वरी मन्दिरको स्थान वातावरण हरियालीले भरिएको परिवेश र पवित्रता मानिसको आत्मिक शान्तिका लागि उपयुक्त ठाउँ हामीले महसुस गर्यौ ।यहाँको वातावरणले मानिसलाई आध्यात्मप्रति झुकाव बढाउन प्रेरित गर्दछ होला जस्तो हामीलाई लाग्यो ।
पिण्डेश्वरीको दर्शनपछि हामी दन्तकालीको दर्शन गर्न तर्फ लाग्यौँ। दन्तकाली मन्दिरको पनि आफ्नै महिमा छ। नेपालका महत्त्वपूर्ण शक्ति पीठहरूमध्ये एक मानिँदो रहेछ। विशेषगरी हिन्दू धर्मालम्बीहरूका लागि धार्मिक ऐतिहासिक र सांस्कृतिक रुपमा महत्त्वपूर्ण स्थान मानिन्छ।
दन्तकाली मन्दिरको नाम महादेव र सतीदेवीसँग सम्बन्धित पौराणिक कथाबाट आएको रहेछ। कथा अनुसार सतीदेवीले आफ्नो पिता दक्ष प्रजापतिले शिवजीलाई अपमान गरेपछि यज्ञमा आफैलाई होम गरिन् सतिदेवीको मृत्युपछि महादेवले उनको शरीर बोकेर त्रिशुलको सहायताले संसारभरि यात्रा गरे त्यस क्रममा शरीरका विभिन्न अङ्गहरू पृथ्वीका विभिन्न स्थानमा खसे र ती ठाउँहरू शक्तिपीठका रूपमा प्रसिद्ध भए विजयपुरको यो स्थानमा सतिदेवीको दाँत खसेको मानिन्छ जसका कारण यो स्थानलाई दन्तकाली दाँतकी देवी भनेर चिनिन्छ ।
मन्दिरको चिसो हावा वरिपरि हरियाली अनि भक्तजनहरूको भिडले हामीलाई थप उत्साहित बनायो। हामी सबैले मन्दिरको आँगनमा प्रवेश गर्नु पूर्व चप्पलहरू निकालेर एकै ठाउँमा राख्यौ पूजा गर्यौ दिप जलायौ अनि देवी दन्तकालीको दर्शन गर्यौ राधाले हल्का चिन्तित स्वरमा भनिन् मेरो चप्पल त छैन हामी सबै अचम्म पर्यो । राधाले ठट्यौली पाराले भनिन् अब यो यात्रा सुखद रह्यो नाङ्गै खुट्टाले देवीको दर्शन गर्न आउने भक्तजनलाई मेरो चप्पल लाउन लगाइन होला भन्दै हाँस्न थाल्यो। हामी उनको जोक सुनेर एकछिन हाँस्यो ।
अब हामी धरान विजयपुरका मन्दिरहरूको दर्शन गर्ने क्रममा बुढासुब्बा तिर लाग्यौँ। बुढासुब्बालाई एउटा पवित्र शक्ति र श्रद्धाका प्रतीकका रुपमा मानिँदो रहेछ। किम्बदन्ती अनुसार विजयपुर राज्यको अन्तिम राजा बुढासुब्बा र उनकी रानीको नामबाट यो स्थलको नामाकरण भएको रहेछ । यहाँको विशेषता भनेको बाँसका बिना टुप्पका बाँसहरूका रुखहरु हुन् ।जुन अन्यन्त्र पाइँदैन यी बाँसहरुलाई कुनै चमत्कारिक शक्ति भएको विश्वास गरिन्छ ।
बुढासुब्बामा ठूलो मेला लागेको रहेछ त्यो दिन। मन्दिरमा कुनै मूर्ति छैन तर सिन्दुरले सजाइएको ढुङ्गालाई भगवानको प्रतीकका रूपमा पूजा गरिँदो रहेछ। पूजा गर्दा बाँसका टुक्राहरूलाई झुकाएर राख्ने परम्परा रहेछ। विजयपुर भन्ने बित्तिकै हाम्रो गन्तव्य बुढासुब्बा त्यहाँको शान्त वातावरण बाँसका बाक्ला जङ्गलहरू र रहस्यमय कथा सुन्दा मन अचम्मले भरियो ।मन्दिरभित्र पूजा गर्यो।अनि हामीले बाँसका केही हाँगाहरु देखाउँदै पुराना किम्बदन्तीहरु माथि छलफल गर्यौ ।
धरानको विजयपुरमा बिताएका ती पलहरू केवल घुमफिर मात्र थिएनन्। ती साथीहरूसँगको आत्मीयता प्रकृति र इतिहासको सम्मान गर्दै एकअर्काको सहकार्यले हाम्रो सम्बन्ध झन् प्रगाड बनायो। आज पनि ती दिन सम्झिदा मनभरि हर्ष र सम्झनाका रङ्गहरू भरिन्छन् विजयपुरको यात्रा मात्र होइन त्यो हाम्रो मित्रताको एउटा अमूल्य पल थियो ।
अब हाम्रो अन्तिम गन्तव्य विजयपुर मन्दिरको दर्शन गर्ने क्रममा हामीले पञ्चदेवी मन्दिरको पनि दर्शन गर्यौ। यी पञ्चदेवीहरू सृष्टिको शक्तिको प्रतीक हुन् र मानिसहरू यी देवीहरूको आराधनाबाट शक्ति ज्ञान धन र जीवनको सन्तुलनको आशीर्वाद प्राप्त गर्न विश्वास राख्दछन्। हामीले पनि मन्दिरभित्र प्रवेश गरेर पूजा अर्चना भक्तिसाथ गर्यौ ।मोबाइलमा तस्बिर कैद गर्यौ, पञ्चदेवीको दर्शन मात्र धार्मिक कर्म होइन यो जीवनप्रति आस्था श्रद्धा र संस्कृतिप्रतिको सम्मान हो। दर्शन गर्ने क्रममा हामीहरुले देवीहरूको आशीर्वादबाट आफ्नो जीवनलाई उज्यालो र सकारात्मक बनाउने प्रेरणा प्राप्त गरेको महसुस गर्यौँ।
अब विजयपुरका शक्तिपीठहरूका दर्शनपछि हामीले अघि राधामण्डल साथीको दन्तकालीमा छुटेको चप्पल लिने भनेर त्यतातिर फेरि लाग्यौँ। नभन्दै राधाको चप्पल त्यही भेटियो र हर्षित हुँदै हामी फेरि फर्कियौँ। चप्पल भेटेको खुसियालीमा दन्तकाली मातालाई धन्यवाद दिँदै हामी ओरालोतिर झर्यौ । फर्किने क्रममा हामीले सुनसरीको पानमारा भन्ने ठाउँमा गाडी रोकेर एकछिन त्यो जंगलमा हामीले राम्रो राम्रा तस्बिरहरु मोबाइलमा कैद गर्यौ त्यो समय त्यो पललाई हामीले तस्बिरमा सुरक्षित राखेका छौं ।
घर फर्किने क्रममा सुनसरीको तरहराको तालतलैया भन्ने ठाउँमा घुम्ने योजना बनाएका थियौं तर समयका बावजुद हामीले तालतलैयाको भ्रमण रोक्यौँ । तर हामीले तालतलैयामा अर्थात् तरारामा दिउँसोको लन्च गर्यौ । थकाली स्टाइलको लन्च हाम्रो लागि एकदम अविस्मरणीय थियो। मैले घिउ थपीथपी खाना खाएको अझै पनि ताजै सम्झना आइरहेको छ ।
पक्कै पनि कहिलेकाहीँ साथीहरूसँगको घुमाई अनुभवले खास पल बनाउँदो रहेछ । भावुक र सम्झना आइराख्ने त्यस्ता क्षणहरू अक्सर जीवनका महत्त्वपूर्ण मोडमा ल्याइदियो। जब हामी एकअर्काको सम्बन्ध र साझा अनुभवहरूको मूल्य बुझ्यौ। त्यो धरान विजयपुरको यात्रा साथीहरुसँगको सधैंभरि सम्झना बनिराखोस्।
प्रतिक्रिया