काठमाडौं । धनुषामा बिहे गर्ने विषयमा विवाद हुँदा प्रेमीले प्रेमिकाको हत्या गरेको पाईएको धनुषा प्रहरीले जनाएको छ । धनुषाको जनकनन्दिनी गाउँपालिका ५ उधा टोलकी २० वर्षीया रेखाकुमारी मण्डलको हत्या भएको हो ।
रेखाको शव जनकनन्दिनी गाउँपालिका ४ खजुरीस्थित आमा खोलामा हत्या गरी प्लास्टिकको बोरामा राखेर फालेको अवस्थामा गत मंसिर ८ गते दिउँसो साढे ३ बज फेला परेको थियो ।
उनको हत्या आरोपमा धनुषा प्रहरीले जनकनन्दिनी गाउँपालिका–३ का २२ वर्षीय राम ललित खत्वे मण्डल, २० वर्षीय ज्ञानेन्द्र दास र धनुषाको शहिदनगर नगरपालिका ८ नाथपट्टीका २४ वर्षीय रमेशकुमार मण्डललाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई गत बिहीबार प्रहरीले पक्राउ गरेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी बरुणबहादुर सिंहले जानकारी दिएका छन ।
मृतक रेखाको हत्याका मुख्य आरोपी रामललित रहेको डिएसपी सिंहले जानकारी दिएका छन । चारवर्षदेखि रेखा र रामललितबीच प्रेम सम्बन्ध रहेको र विवाह गर्ने विषयमा भएको विवादमा हत्या भएको अनुसन्धानबाट खुलेको उनले जानकारी दिएका छन ।
रेखाको परिवारले रामललितसँग विवाह सम्बन्ध स्वीकार गर्न नमानेको, रेखाले आफ्नो घरबाट भागेर रामललितलाई बिहे गर्न दबाब दिएको, तर रामललित नेपाली सेनामा फर्म भरेको हुँदा जागिर खाइसकेपछि मात्र विवाह गर्ने भनेकोमा विवाद हुँदै आएको प्रहरीले जानकारी दिएको छ ।
रामललितले रेखालाई घटनास्थलमा भेटघाटको लागि बोलाउन साथी ज्ञानेन्द्र र रमेशको सहयोग लिएका थिए । त्यहाँ रेखा आएपछि उनले ब्लेडले घाँटी रेटी हत्या गरेको अनुसन्धानबाट देखिएको डिएसपी सिंहले जानकारी दिएका छन ।
प्रतिक्रिया