काठमाडौं । प्रहरीले काठमाडौंको ठमेल र दरबारमार्ग क्षेत्रमा ट्याक्सीमा महिलाहरूलाई बोकेर हिँड्ने र यौनधन्दा गराउने गरेको आरोपमा दुईजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काभ्रेको तिमाल गाउँपालिका–१ घर भएर बालाजु बस्ने सूर्यबहादुर तामाङ उर्फ प्रितम र रामेछापको उमाकुण्ड गाउँपालिका–५ घर भएर कागेश्वरी मनोहरा बस्ने चेतबहादुर कटुवाल रहेको प्रहरीले जानकारी दिएको छ ।
आरोपीहरूले ललाई फकाई महिलाहरूलाई ग्राहकसँग यौन सम्पर्क गर्न बाध्य बनाउने गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिएका छन ।
प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले दुईवटा ट्याक्सीमा सवार ६ जना महिलाको उद्धार गरिएको पनि प्रहरीले जानकारी दिएको छ । सूर्य बहादुर बा.२ ज ५१४३ नम्बरको ट्याक्सी चालक र कटुवाल बा.२ ज ५१८६ नम्बरको ट्याक्सीका चालक हुन् ।
उनीहरू विरुद्ध प्रहरी वृत्त दरबारमार्गले मानव बेचबिखन तथा ओसारपसार अन्तर्गतको कसुरमा अदालतबाट म्याद लिएर अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।
आरोपीहरूले ‘काममा लगाइदिन्छौ’ भनेर पीडितहरुको कमजोर आर्थिक अवस्थाको फाइदा लिएर यौन सम्पर्क गर्न बाध्य बनाएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।
प्रतिक्रिया