लिलाबल्लभलाई मुद्दा चलाउन माग गरिएको रिट सर्वोच्चद्वारा दरपीठ

लिलाबल्लभलाई मुद्दा चलाउन माग गरिएको रिट सर्वोच्चद्वारा दरपीठ



काठमाडौं । कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीविरुद्ध मुद्दा चलाउनुपर्ने माग गर्दै दायर गरेको रिट सर्वोच्च अदालतले दरपीठ गरिदिएको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले मुद्दा नचल्ने निर्णय बदरको माग गर्दै पुन: अनुसन्धान गरी मुद्दा दायर गर्ने निर्देशनको माग गर्दै सर्वोच्चमा रिट निवेदन दिएका थिए ।

रिट दरपीठ गर्ने सर्वोच्च प्रशासनको आदेशविरुद्ध आफू फेरि अदालत जाने अधिवक्ता त्रिपाठीले बताए । अधिकारीमाथि मुद्दा नचल्ने भनी भएको निर्णय बदनियतपूर्ण भएकाले तत्काल बदर गर्नुपर्ने उनको माग छ ।

मानव तस्करको आरोपमा गत कार्त्तिक २५ गते अधिकारी पक्राउ परेका थिए। जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले अधिकारीविरुद्ध मुद्दा नचल्ने निर्णय गरेपछि उनी ११ मंसिरमा हिरासतमुक्त भएका थिए । जापान भ्रमणमा जाने क्रममा मानव तस्करी गरेको आरोप अधिकारीमाथि छ ।