काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा कप्तान अनिल शाहले अर्धशतक प्रहार गरेपछि जनकपुर बोल्ट्सले लगातार दोस्रो जित हात पारेको छ ।
अनिलको अविजित ६२ रन मदतमा जनकपुरले कर्णाली याक्सले दिएको १४२ रनको लक्ष्य १५.१ ओभरमै २ विकेट गुमाएर पूरा गरेको हो ।
ओपनर अनिलले ४२ बल खेल्दै ६ चौका र ३ छक्का प्रहार गरे ।
अनिलले मार्की खेलाडी आसिफ शेखसँग पहिलो विकेटका लागि ८४ रनको साझेदारी गर्दै जितको आधार तयार गरेका थिए । आसिफले २९ बल खेल्दै २ चौका र २ छक्का मदतमा ३६ रन जोडे ।
दोस्रो विकेटका लागि अनिल र लाहिरु मिलान्थाले ३३ रनको साझेदारी गरे । अघिल्लो खेलमा विराटनगर विरुद्ध अर्धतशक बनाएका मिलान्थाले १३ बलमा २ चौका र २ चौका प्रहार गर्दै २४ रन बनाएका थिए ।
जिम् नीशमले अविजित १६ रन योगदान गरे । ८ बल खेलेका उनले २ चौका र १ छक्का प्रहार गरे ।
कर्णालीका मौसम ढकाल र निशान मक्सुदले समान १ विकेट लिए ।
यसअघि कीर्तिपुरमा टस जितेर ब्याटिङ गरेको कर्णालीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४१ रन बनायो । कर्णालीका गुल्सन झाले ३६, अर्जुन घर्तीले ३३, कप्तान सोमपाल कामीले नटआउट २९ रन बनाए । यस्तै भारतीय खेलाडी शिखर धवन १४ रनमा आउट भए । जनकपुरका मोहम्मद मोहसिनले २ विकेट लिए ।
यसअघि जनकपुरले उद्घाटन खेलमा विराटनगर किङ्ग्सलाई हराएको थियो ।
प्रतिक्रिया