काठमाडौं । चीनका राष्ट्रपति सि चिनपिङले नेपाललाई ५०० मिलियन आरएमबी अर्थात करिब ९ अर्ब रूपैयाँ अनुदान सहयोग गर्ने घोषणा गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटवार्तामा सो अनुदान घोषणा भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
चार दिने चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सीसँग आज भेटघाट तथा छलफल गरेका थिए, साे क्रममा साे घाेषणा भएकाे छ ।
चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली चार दिने भ्रमणका लागि सोमवार चीन प्रस्थान गरेका थिए ।
बेइजिङ पुगेको भोलीपल्ट अर्थात मंगलबार चिनियाँ समकक्षी लीसँग भेटवार्ता गरी द्विपक्षीय आपसी हितका विविध विषयमा विचार आदानप्रदान गर्नुका साथै ९ बुँदे सहमतिमा हस्ताक्षर गरे पछि चिनियाँ राष्ट्रपति सि जिनपिङसँग भेटबार्ता गरेका हुन् ।
राष्ट्रपति सीलाई नेपाल भ्रमणको निम्तो
प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सीलाई नेपाल भ्रमणको निम्तो दिएका छन् ।
मंगलबारको भेटका क्रममा सीलाई नेपाल भ्रमणको निम्तो दिइएको परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले जानकारी दिए ।
नेपाल–चीनबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाठको अवसरमा सन् २०२५ मा नेपाल भ्रमण गर्न राष्ट्रपति रामचन्द्र पौडेलको तर्फबाट चिनिया राष्ट्रपतिलाई प्रधानमन्त्री ओलीले आमन्त्रण गरेका हुन् । निमन्त्रणाका लागि धन्यवाद दिँदै सीले उपयुक्त समयमा नेपाल भ्रमण गर्ने बताए ।
प्रधानमन्त्री ओली यही मंसिर २० गते स्वदेश फर्कनेछन ।
प्रतिक्रिया