कर्णाली सभाका तीन संसदीय समिति नेतृत्वविहीन

कर्णाली सभाका तीन संसदीय समिति नेतृत्वविहीन



सुर्खेत । कर्णाली प्रदेश सभाका तीन वटा विषयगत समिति नेतृत्वविहीन भएको छ । प्रदेशका सार्वजनिक लेखा समिति, अर्थ तथा प्राकृतिक समिति र सामाजिक विकास समिति नेतृत्वविहीन छन् ।

अर्थ समिति गएको वैशाखदेखि, विकास समिति साउनदेखि र लेखा समिति गएको असोजदेखि सभापतिविहीन भएका हुन् । अहिलेसम्म यी समितिका सभापति नहुँदा चार वटा विधेयकमा छलफल हुनसकेको छैन भने हुँदा सरकार पनि विशेषज्ञ सुझावबाट वञ्चित भएको छ ।

सरकारका काम कारबाही अनुगमन गर्ने र सार्वजनिक महत्त्वका विषयमा सरकारलाई जवाफदेही बनाउने समिति नै सभापतिविहीन भएपछि ती समिति गतिहीन बनेका छन् ।

कर्णाली प्रदेशसभाका सचिव जीवराज बुढाथोकीले सभापतिको पद खाली हुँदा ज्येष्ठ सदस्यले समितिको काम गर्न मिल्ने भए पनि कर्णालीमा त्यो कार्यान्वयन नभएको बताए ।