काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले नयाँ संविधान लागू भएर देशको संघीय ढाँचामा पुनःसंरचाना पश्चात नेपाल आधुनिक विकास प्रयासमा अगाडि लम्किरहेको बताएका छन ।
नेपाली वास्तुविद् समाज (सोना) र ग्लोबल बिजनेश रिकनेक्टको संयुक्त आयोजनामा बिहिबारबाट काठमाडौमा शुरु भएको आर्कबिल्ड एक्स्पो २०२४को विशेष समारोहमा बोल्दै उनले यस्तो बताएका हुन ।
‘नेपालको नयाँ संविधान लागु भै देशको संघीय ढाँचामा पुनःसंरचाना पश्चात नेपाल आधुनिक विकास प्रयासमा अगाडि लम्किरहेको छ । सन् २०२६ सम्म अतिकम विकसित राष्ट्रबाट विकासील राष्ट्रको श्रेणीमा स्तोरोन्नती हुने प्रयासमा छ। यो विकास प्रयासमा खासगरी आधारभूत र उत्थानशील पूर्वाधार निर्माणमा स्वदेशी विदेशी ठूलो लगानी, प्रविधि र विज्ञताको आवश्यकता रहेको छ,’ कार्यवाहक प्रधानमन्त्री सिंहले भने, ‘अर्कोतर्फ, हालका वर्षहरूमा जलवायु परिवर्तनजन्य एवं अन्य विपद्का घटनाहरूमा बढोत्तरी भै विकास प्रयासलाई ओझेलमा पार्ने गरी विनाशकारी प्रभावहरू बढेर गएका छन् । यस परिप्रेक्षमा हाम्रा शहरहरू र समुदायहरूको दिगो भविष्य सुनिश्चित गर्ने समाधानका उपायहरुको खोजी गर्नु आजको चुनौती रहेको छ ।’
शहरी विकास मन्त्री समेत रहनुभएका कार्यवाहक प्रधानमन्त्री सिंहले नेपालको विविधतायुक्त भूगोल, पर्यावरण र सामाजिक साँस्कृतिक परिवेशमा पूर्खाको ज्ञान र पौरखले सिर्जित ऐतिहासिक र परम्परागत वस्ती, स्थानीय मौलिक वास्तुकला, निर्माण शैली, यसबाट सिर्जित निर्मित वातावरण र मुर्त अमुर्त सांस्कृतिक सम्पदाहरू नेपालको ठूलो सम्पत्ति रहेको बताए । तर, अहिलेको निर्माण पद्धतिहरूमा मौलिकताको पक्ष ओझेल पर्दै गएको भन्दै उनले नेपाली पहिचानको धरोहरको रूपमा रहेको नेपाली वास्तुकला र निर्मित वातावरणको गौरवमय इतिहासलाई कायम राख्दै आधुनिक विकास निर्माणलाई नेपालीपन सहितको दिगो बनाउन सहि दिशानिर्देश गर्नुपर्ने आवश्यकता रहेकोमा जोड दिए ।
नेपाल अहिले तिब्रत्तर शहरीकरणको प्रकृयाबाट गुज्रिरहेको र गाउँबाट मानिसहरू विभिन्न अवसरको खोजिमा शहरमा बसाईसराई गर्ने प्रवृत्ति बढेको भन्दै उनले भने, ‘विश्व परिवेशलाई हेर्दा शहरीकरणलाई रोक्न नसकिने र यसको व्यवस्थापनको विकल्प नरहेको देखिएको छ । नेपालमा शहरीकरणलाई व्यवस्थापन गर्ने क्रममा शहरमा रोजगारी, सेवा पूर्वाधारको बृद्धि गर्न अहिले भएका प्रयासहरू प्रयाप्त छैनन् ।’
योजनाबद्ध शहरी विस्तार, भूउपयोग र भौतिक विकासको नियमन, र रणनैतिक हिसाबले एकीकृत पूर्वाधारमा लगानी गर्न सकिएन भने यसबाट दिर्घकालमा गम्भिर सामाजिक, आर्थिक र वातावरणीय असरहरू भोग्नु पर्ने उनको भनाई थियो । यी चुनौतिहरूको सामना गर्न नेपाली वास्तुविद र इन्जिनियरिङ समुदाएको भूमिका महत्वपूर्ण हुने पनि उनको भनाइ छ ।
वास्तुकला क्षेत्रमा बिशेष गरि कृषि, हरित उर्जा, योग, साधना, आर्युवेद र प्राकृतिक उपचार सहितको स्वास्थ्य हेरचाह, मनोरञ्चन, साहसिक र पर्यापर्यटनको आतिथ्यताको क्षेत्रको पूर्बाधार निर्माणमा अथाह सम्भावना राख्ने भन्दै उनले यी क्षेत्रको उन्नयन मार्फत नेपालको समृद्धिको यात्रामा सहभागी हुन र सहकार्य गर्न स्वदेशी र विदेशी वास्तुबिद, लगानी कर्ता, उत्पादक, विज्ञ सबैलाई आग्रह गरेका छन ।
नेपाली वास्तुविद्हरूको भूमिकालाई थप प्रभाबकारी बनाउन गरिनुपर्ने नीतिगत र संस्थागत सुधारका लागि शहरी विकास मन्त्रालय तत्पर रहेको मन्त्री सिंहले प्रतिवद्धता पनि जनाए । आजबाट शुरु भएको एक्स्पो ३ दिन चल्ने आयोजकले जनाएको छ ।
प्रतिक्रिया