काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीनको चारदिने औपचारिक भ्रमण पूरा गरी स्वदेश फिर्ता भएका छन् । प्रधानमन्त्री ओलीलाई उपप्रधानमन्त्री प्रकासमान सिंह, गृहमन्त्री रमेश लेखक लगायतले त्रिभुवन विमानस्थलमा स्वागत गरेका छन् ।
विमानस्थलमा भएको पत्रकार सम्मेलनमा ओलीले बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) को समझदारीमा नेपालले ऋण लिने विषय उल्लेख नभएको र चीनसँग यस्तो कुरा पनि नभएको बताएका छन् ।
आफूले यो भ्रमणमा ऋण सम्झौता नगरेको ओलीको भनाइ छ । आफूले पटक–पटक यो विषयमा स्पष्ट पार्दा पनि अनावश्यक हल्ला भइरहेकोमा ओलीले असन्तुष्टि पोखे ।
‘अहिले हामीले जे प्राप्त गरेका छौं । त्यो ऋण होइन भन्ने कुरा धेरैपटक भनिएको छ । अब धेरै दोहोर्याउन नपरोस् भन्ने मेरो आग्रह छ । ऋण होइन,’ प्रधानमन्त्री ओलीले भने, ‘ऋण सम्बन्धी कुरा पनि चलेको छैन । फेरि ऋणको कुरा कहाँबाट आउँछ ? सधैं ऋण–ऋण–ऋण यो रट किन साह्रै बजिरहेको छ ? होइन भनेर हामीले पटक–पटक भनेका छौं । सञ्चार माध्यमहरूले पनि हाम्रा भनाइलाई क्यारी गरेका छन् ।’
प्रधानमन्त्री ओलीले ऋण सम्झौता नभएको बताए पनि बीआरआईको फ्रेमवर्कमा सहायता शब्द उल्लेख भएकाे छ । फ्रेमवर्कको मस्यौदामा ग्रान्ट फाइनान्सिङ लेखिएको ठाउँमा एड फाइनान्सिङ राखेर हस्ताक्षर गरिएको छ ।
पत्रकार सम्मेलनमा ओलीले अब भारत भ्रमणको पनि योजना बनाउने बताउनुभएको छ । ओलीले भारतको भ्रमण कहिले हुन्छ भनेर ठ्याक्कै भन्न नसकिने तर अब व्यवस्था मिलाउनुपर्ने बताउनुभयो । ‘अब भारत भ्रमणको एरेन्ज गर्नुपर्छ । कहिले भन्ने कुरा फर्किएकै दिन कसरी टुङ्ग्याउन सकिन्छ ?’ ओलीले भने ।
आफ्नो चीन भ्रमणलाई भारतीय सञ्चारमाध्यमले अनावश्यक बहस चलाएको ओलीको सङ्गेत छ । उनले एमाले र कांग्रेस नेतृत्वको सरकारले पूर्ण कार्यकाल सरकार चलाउने पनि बताउनुभएको छ । अबको १७ महिनापछि आफूले सरकारको नेतृत्व कांग्रेसलाई दिने ओलीको भनाइ छ ।
प्रधानमन्त्री ओली चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा गएको सोमवार नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यहाँ जानुभएको थियो । बेइजिङमा रहँदा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्नुभएको थियो । त्यस अवसरमा उहाँहरूबीच नेपाल–चीन सम्बन्धका साथै द्विपक्षीय हित र चासोका विविध विषयमा विचारविमर्श भएको थियो ।
भ्रमणका क्रममा प्रधानमन्त्री ओली र उनका चिनियाँ समकक्षीको उपस्थितिमा नेपाल र चीनबीच विभिन्न समझदारी भएका छन् । यसै अवसरमा नेपाल र चीनबीच बिआरआई फ्रेमवर्कसहित विभिन्न महत्त्वपूर्ण सम्झौता भएका छन् ।
प्रतिक्रिया