वडाध्यक्ष र सचिवसहित ७ जनाविरुद्ध पक्राउ पुर्जी जारी, वडाध्यक्ष सम्पर्कविहीन

वडाध्यक्ष र सचिवसहित ७ जनाविरुद्ध पक्राउ पुर्जी जारी, वडाध्यक्ष सम्पर्कविहीन


ग्लोब नेपाल
621
Shares

काठमाडौं । धादिङको धुनीबेशी नगरपालिका-४ का वडाध्यक्ष र सचिवसहित ७ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

उनीहरूविरुद्ध १२ मंसिरमा पक्राउ पुर्जी जारी भएको जिल्ला अदालत धादिङका सूचना अधिकारी ध्रुवप्रसाद सुवेदीले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय धादिङको अनुरोधमा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरिएको उनले बताए ।

पक्राउ पुर्जी जारी हुनेहरूमा वडाध्यक्ष हरिप्रसाद सुवेदी, तत्कालीन वडा सचिव मिलनकुमार सुवेदी, उक्त वडाका अर्का कर्मचारी निर्मल गौतम, धादिङकै थाक्रे गाउँपालिका-८ का २९ वर्षीय रविन्द्र तामाङ, धुनीवेशी-४ का ३० वर्षीय राजु तामाङ, धुनीवेशी-४ कै ५५ वर्षीय मदन दमाई र काठमाडौंको तार्केश्वर नगरपालिका-४ पुरानो गुहेश्वरी बस्ने ३६ वर्षीय जमुना परियार रहेको प्रहरी स्रोतले बतायो ।

उनीहरूविरुद्ध कीर्तेको कसुरमा अनुसन्धानका लागि पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ । प्रहरीका अनुसार उनीहरूविरुद्ध सरकारी कागजात कीर्ते गरेको कसुरमा पक्राउ पुर्जी जारी भएको छ । यसबारे अनुसन्धान भइरहेको छ ।

यता पक्राउ पुर्जी जारी भएपछि वडाध्यक्ष सुवेदी भने मोबाइल अफ गरेर सम्पर्कविहीन भएका छन् ।