बिआरआईमा अनुदानका परियोजना मात्रै अघि बढ्छ : कांग्रेस

बिआरआईमा अनुदानका परियोजना मात्रै अघि बढ्छ : कांग्रेस



काठमाडौं । नेपाली कांग्रेसले बिआरआई फ्रेमवर्कअन्तर्गत चीनले अनुदान दिने परियोजनाहरू मात्र अघि बढ्ने बताएको छ ।

सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा सोमबार बिहान बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले चीनले अनुदान दिने परियोजनामात्रै नेपालमा अघि बढ्ने निष्कर्ष निकालेको
प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।

‘कार्यसम्पादन समितिमा बिआरआईबारे पनि छलफल भयो । पार्टीको कार्यसम्पादन समितिले पहिला नै अनुदान स्वीकार गर्ने भनेअनुसार चीनबाट आएको प्रस्तावमा सरकार र हाम्रो पार्टीबीच पनि छलफल गरेर प्रधानमन्त्रीको चीन भ्रमणका बेला अनुदान सहयोग लिने गरी चीन सरकारसँग प्रस्ताव गरियो,’ प्रवक्ता महतले भने, ‘बिआरआई फ्रेमवर्कअन्तर्गत १० परियोजना सूची छन् । जुनमा अनुदान दिन चीन तयार हुन्छ त्यो परियोजना मात्रै सम्झौता र अघि बढ्छ, ऋण लिँदैनौं ।’

कांग्रेसले स्थानीय तह उपनिर्वाचनको नतिजा सन्तोषजनक रहेको निष्कर्ष निकालेको छ । ‘हामी अहिले पनि ठूलो पार्टीका रूपमा स्थापित भएका छौँ । महत्त्वपूर्ण ठाउँहरूमा हामीले जितेका छौँ । र, यो परिणामलाई हामीले सन्तोषजनक ठानेका छौँ,’ कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले बैठकपछि सञ्चारकर्मीसित भने ।

उनका अनुसार, उपनिर्वाचनको नतिजाबारे बैठकमा सामान्य छलफल भएको थियो । ‘स्थानीय निर्वाचनको विविध स्थानीय पक्षहरू, वडा तह समेतको निर्वाचन हो,’ उनले भने, ‘त्यसलाई राष्ट्रिय मोडको रूपमा बुझ्नु हुँदैन ।’