काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस र एमालेको हातमा अहिले राजनीति नभएको दाबी गरेका छन् । राष्ट्रिय कर्मचारी महासंघको स्थापना दिवसलाई सम्बोधन गर्दै उनले कांग्रेस र एमालेलाई विचौलियाहरुको मुखौटाको संज्ञा दिए ।
उनले भने, ‘अहिले सरकारमा भएका राजनीतिक दलका नेताको हातमा राजनीति छैन । उनीहरुको राजनीति विचौलिया र दलालको हातमा छ भन्ने कुरा प्रस्ट देखिएको छ । उनीहरु त खाली मुखौटामात्रै हुन्, विचौलियाहरुले घुमाएर रातको अँध्यारोमा आआफ्नो घर घुमाएर, नेताहरुलाई उठबस गराएर, नेताहरुलाई हामीले भनेको माने राख्छौं, नत्र राख्दैनौं भनेर गरिएका मुखौटाभन्दा बाहेक केही पनि देखिएन ।’
प्रतिक्रियावादी शक्तिहरुले संख्याको बल देखाएर आफूलाई सरकारबाट हटाएको भन्दै प्रचण्डले अब जनताको तागत देखाउने अभियानमा अघि बढेको सुनाए ।
उनले थपे, ‘हामीले सरकार छाड्दैगर्दा जनता र राष्ट्रप्रतिको निष्ठा विश्वाससहित आफूहरुले गरेको कमीहरुको समीक्षा गर्दै हामीले जनताको तागत देखाउनुपर्नेछ, विचौलियाहरुले संख्याको तागत देखाए ।’
साथै, उनले माओवादीप्रति जनताको भरोसा बढ्दै गएको भन्दै फेरि जनताको तागत देखाउनुपर्ने उल्लेख गरे ।
‘अब फेरि जनताको तागत देखाउनुपर्ने भयो भनेर जनताको बीचमा गएर तागत केन्द्रिकृत गर्छु भनेको थिएँ । त्यही अनुसार हामी सबै प्रदेशमा गयौं,’ प्रचण्डले भने ।
प्रतिक्रिया