प्रहरीले विरगञ्ज पुर्‍यायाे रवि लामिछानेलाई

प्रहरीले विरगञ्ज पुर्‍यायाे रवि लामिछानेलाई



काठमाडौं । थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रहरीले पोखराबाट विरगञ्ज पुर्‍याएको छ । सानोपाइला बचत तथा ऋण सहकारीका बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा पर्साबाट पक्राउ पूर्जी जारी भएकाले लामिछानेलाई आज पर्साको विरगञ्ज पुर्‍याइएको प्रहरीले जनाएको छ ।

लामिछानेलाई पोखराबाट जहाजमा काठमाडौं हुँदै सिमरा र त्यहाँबाट गाडीमा वीरगन्ज लगिएको प्रहरीले जानकारी दिएको छ । लामिछानेसँगै गोर्खा मिडिया नेटवर्कका अर्का सञ्चालक पूर्वडीआईजी छविलाल जोशीलाई भने पोखराबाटै सडकमार्ग हुँदै वीरगन्ज पुर्‍याइएको प्रहरीले जनाएको छ ।

गएको कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई प्रहरीले चितवन र रुपन्देहीसमेत लगेर बयान लिइसकेको छ । हिजो जिल्ला अदालत कास्कीले लामिछानेलाई थप चार दिन थुनामै राखेर अनुसन्धान गर्न छैटौं पटक म्याद थप गरेको छ ।