बीआरआई ऋण वा अनुदान जे पनि हुनसक्छ : प्रधानमन्त्री

बीआरआई ऋण वा अनुदान जे पनि हुनसक्छ : प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनसँग गरेको बीआरआई सम्झौतामा ठिक रहेको दाबी गरेका छन् ।

एमालेका अध्यक्ष समेत रहेका ओलीले झापाको बिर्तामोडमा एमालेका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै बीआरआई चीनले अरु देशहरुलाई गर्ने सहयोग अघि सारेको परियोजना भएकाले ऋण, अनुदान, सहकार्य र संयुक्त लगानी पनि हुनसक्ने बताए ।

उनले भने, ‘बीआरआईबारे नबुझेर धेरै कराएका छन् । यो ऋण हो कि अनुदान हो ? भन्दै कराएका छन् । बीआरआई चीनले अरु देशहरुलाई गर्ने सहयोग विकासमा गर्ने सहयोग त्यो ऋण पनि हुनसक्छ, त्यो अनुदान पनि हुनसक्छ, सहकार्य, संयुक्त लगानी पनि हुनसक्छ । कुनै देशमा गएर गर्ने लगानी पनि हुनसक्छ । ऋण बीआरआई, अनुदान बीआरआई हुँदैन, यसका धेरै आयामहरु छन्, तसर्थ चीनले आफूले बाहिरका देशलाई दिने सहयोग पनि बीआरआई अन्तर्गत पर्छन् । हामीले आर्थिक विकाससँग सम्बन्धित कुरालाई जोड दिएका छौं ।’

प्रतिफल दिने ठाउँमा ऋण लिएर पनि काम गर्नुपर्ने उनले बताए । उनले भने, ‘मैले भनेरै गएको हो यतिबेला ऋणको कुरा हुँदैन । ऋण लिन जान लागेको होइन भनेर, हामी अनुदान सहायताकै कुरा गर्छौँ भनेर, तर, हाम्रो जस्तो गरिब देशले कुनै देशसँग ऋण लिनै हुँदैन भन्न हुँदैन, प्रतिफल दिने ठाउँमा ऋण लिएर पनि काम गर्नुपर्ने हुनसक्छ । देशलाई नोक्सान गर्नेगरी कुनै काम गर्दैन ।’

प्रधानमन्त्री ओलीले बीआरआईको बारेमा एउटा रुपरेखा सम्झौता गरेकाे बताए । उनले भने, ‘नेपालले प्राप्त गर्ने सहयोग बर्षौँदेखि अलमलिएको थियो । यसपटकबाट सम्झौता गरेर हामीले अगाडि बढाएका छौं । बीआरआईको बारेमा एउटा रुपरेखा सम्झौता गरेका छौं । बीआरआईमा हामीले गरेको सहमति ठिक छ । यो १५३ देशले स्वीकारेको बिषय हो। यसले हाम्रो देशलाई लाभ पुग्नेगरी सम्झौता गरेको छौं । कसैले अलमलिनु पर्दैन । हामीले हाम्रो राष्ट्रिय हित छाड्दैनौं ।’