महोत्तरीसहित मधेशमा हुस्सु र चिसोको कहर

महोत्तरीसहित मधेशमा हुस्सु र चिसोको कहर



महोत्तरी । लगातार चिसो सिरेटो चलेर चारैतिर बाक्लो हुस्सुले डम्म ढाकेपछि महोत्तरीसहितका मधेशमा जाडो बढेको छ । मङ्सिरको अन्तिम हप्ता शुरू भएसँगै मौसम चिसिँदै गएपछि मधेशको जनजीवन कष्टकर बन्दै गएको हो ।

जाडोले बालबालिका, वृद्धवृद्धा, गर्भवती र सुत्केरी बढी प्रभावित बनेका छन् । खासगरी श्वासप्रश्वासका बिरामीलाई यो मौसमले बढी च्याप्ने हुँदा स्याहारमा ध्यान दिनुपर्ने बर्दिबास अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.सुदीप ठाकुर बताए ।

धमाधम खेतीपाती लगाउने बेला जाडो बढेपछि किसानले काम अघि बढाउन सकेका छैनन् । गहुँ छर्ने अन्तिम तयारी गर्नुपर्ने, उखु कटानको काम धमाधम गर्नुपर्ने , हिउँदेबाली लगाउन भ्याइनभ्याइ पर्ने बेला चिसोका कारण हातगोडा कठ्याङ्ग्रिएर घरबाट निस्कन नसकेको बर्दिबास–१३ का ठकाइ महतोले बताए ।

महोत्तरीसहितका मधेशमा हुस्सु र चिसोको कहर छ । पुस पहिलो हप्तापछि बढ्ने हुस्सु केही वर्षयता मध्य मङ्सिरदेखि नै डम्म लाग्ने गरेको स्थानीयवासीले बताएका छन् ।