सर्वोच्चले माग्यो रास्वपाका नेताहरूसँग लिखित जवाफ

सर्वोच्चले माग्यो रास्वपाका नेताहरूसँग लिखित जवाफ



काठमाडौं । अदालतको अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरूसँग लिखित जवाफ माग गरेको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र महेश शर्मा पौडेलको संयुक्त इजलासले मंगलवार रास्वपाका नेताहरूसँग लिखित जवाफ माग गर्ने आदेश गरेको हो ।

अनुसन्धानको चरणमा रहेका रवि लामिछानेको विषयलाई जोडेर अदालतप्रति मानहानि हुने गरी सार्वजनिक रुपमा अभिव्यक्ति दिएर अदालतको मानहानि गरेको भन्दै अधिवक्ता अनुपम भट्टराईले रिट दायर गरेका थिए ।

यसअघि सर्वोच्चले रास्वपा नेताहरूले अदालतको अवहेलना हुने गरी दिएको भनिएको भाषण पेस गर्न आदेश भएको थियो । निवेदकले उक्त भाषण उतार गरेर बुझाएपछि दोहोरो सुनुवाइका लागि पेसी तोकिएको थियो ।

सुरुमा अवहेलना निवेदन सर्वोच्च प्रशासनले दरपिठ गरेको थियो । दरपिठ विरुद्ध इजलासमा निवेदन दिएपछि दर्ता भएको थियो ।

अवहेलना निवेदनमा रास्वपाका सांसदहरू स्वर्णिम वाग्ले, प्रवक्ता मनिष झा, सुमना श्रेष्ठ, विराजभक्त महर्जन, तोषिमा कार्की, सोबिता गौतम लगायतलाई विपक्षी बनाइएको छ । सर्वोच्चले विपक्षी बनाइएका सवैसँग लिखित जवाफ माग गर्ने आदेश गरेको हो ।