काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रमा गरिएको लगानीलाई व्यवस्थित गर्न जरुरी रहेको बताएका छन् । स्वास्थ्यमा सर्वव्यापी पहुँच दिवसका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
स्वास्थ्य क्षेत्रमा व्यवस्थित लगानी नहुँदा परिणाम दिन नसकिएको उनले उल्लेख गरे । उनले यस क्षेत्रमा आवश्यकताअनुसार लगानी हुन नसकेको र भएको पनि व्यवस्थित गर्न नसकिएको बताए ।
“स्वास्थ्यमा भएको लगानी व्यवस्थित नभएकाले जुन परिणाम दिनुपर्ने हो, त्यो परिणाम प्राप्त हुन सकेको छैन,” उनले भने, “लगानी पनि आवश्यकताअनुसार (पूर्ण हुने कुरा त धेरै परको कुरा भयो) न्यूनतम आवश्यक पूरा गर्ने ढंगको पनि भइरहेको छैन ।”
उनले नागरिकको स्वास्थ्य सरकारको पहिलो दायित्व भएको पनि उल्लेख गरे । स्वास्थ्यको दायित्वबाट सरकार विमुख हुन नमिल्ने उनले बताए । स्वास्थ्य क्षेत्रका संरचना र जनक्तिलाई पनि व्यवस्थित गर्न आवश्यक रहेकामा उनले जोड दिए । “…अस्पताल बनाएर मात्रै हुँदैन, अस्पतालभित्र उपकरण र जनशक्ति पनि हुनुपर्छ,” उनले भने ।
मन्त्री पौडेलले आर्थिक पक्षबाट पनि स्वास्थ्यलाई सर्वसुलभ र सहज बनाउनुपर्ने बताए ।
प्रतिक्रिया