काठमाडौं । मलेसियामा आगामी साता सुरू हुने एसीसी यू-१९ महिला एसिया कप क्रिकेट खेल्न जाने नेपाली टोलीको बिदाई गरिएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा एक कार्यक्रम आयोजना गरी टोलीको बिदाई गरिएको हो । यू१९ महिला एसिया कप यही डिसेम्बर १५ देखि सुरू हुँदै छ ।
नेपाल, भारत र पाकिस्तान समूह बी मा छ । नेपालले पहिलो खेल डिसेम्बर १६ मा पाकिस्तानसँग र डिसेम्बर १७ मा भारतसँग खेल्नेछ ।
क्यानले पुजा महतोको कप्तानीमा यसअघि नै १५ सदस्यीय टोली घोषणा गरिसकेको छ ।
युएईमा भएको आईसीसी यू१९ वुमन्स विश्वकप एसिया छनोटको उपाधि जितेको नेपाली टोलीबाट एक खेलाडी बाहेक सबैले टिममा निरन्तरता पाएका छन् ।
छनोट खेलेकी मनिषा उपाध्यया टिम बाहिर हुँदा किरण कुमारी कुँवर र अनु कडायत टिममा थपिएका छन् । बाँकी १३ खेलाडी टिममा यथावत नै छन् ।
उपकप्तानमा सोनी पाख्रिन छन् । यस्तै अन्य खेलाडीमा, ज्योत्सनिका मरासिनी, कुसुम गोदार, एलिसा कुमारी यादव, कृष्मा गुरुङ, तृष्णा विक, रिया शर्मा, रचना चौधरी, सिमाना केसी र स्नेहा महराले टिममा निरन्तरता पाएका छन् ।
प्रतिक्रिया