एनपीएल : कर्णालीको प्लेअफ सम्भावना बलियो

एनपीएल : कर्णालीको प्लेअफ सम्भावना बलियो



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)–२०२४ को आफ्नो अन्तिम खेलमा पनि लुम्बिनी लायन्सले हार व्यहोरेको छ । शुक्रबार भएको खेलमा कर्णाली याक्ससँग लुम्बिनी पाँच रनले पराजित भएको हो ।

योसँगै लुम्बिनीले प्रतियोगिताका सात खेलमा एक जित र ६ हारको नतिजासहित आफ्नो यात्रा टुंग्याएको छ ।

शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा कर्णालीले प्रस्तुत गरेको १२९ रनको लक्ष्य पछ्याउने क्रममा लुम्बिनीले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १२३ रनमात्र बनाउन सक्यो ।

जितसँगै कर्णालीले भने आफ्नो प्लेअफ सम्भावनालाई बलियो बनाएको छ । ६ खेलबाट आठ अंक जोडेको कर्णाली तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।

लुम्बिनीका लागि टोम मूलेसले सर्वाधिक ३६ रन बनाए । यस्तै, सन्दीप जोराले २४, आशुतोष घिरैयाले १६, अर्जुन साउदले १३, कप्तान रोहित पौडेल १० र साद बिन जफरले १६ रन बनाए ।

कर्णालीका लागि जीसम मक्सुदले २ विकेट लिए । सोमपाल कामी, नन्दन यादव, विलियम बसिस्टो र विपिन शर्माले १-१ विकेट लिए ।

त्यसअघि कर्णालीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२८ रन बनायो ।

कर्णालीका लागि विलियम बसिस्टोले सर्वाधि ४४ रन जोडे । अर्जुन घर्तीले २५, बाबर हायातले २० रन बनाए ।

लुम्बिनीका लागि वकास आग्रीले ३ तिलक भण्डारीले २ विकेट लिए । रोहित पौडेल, सादबीन जफर र रामोन सिम्मोन्डस्ले १-१ विकेट लिए ।