संसद्को गरिमा उँचो बनाउन सबैको सहयोग आवश्यकः सभामुख घिमिरे

संसद्को गरिमा उँचो बनाउन सबैको सहयोग आवश्यकः सभामुख घिमिरे



काठमाडौं । सभामुख देवराज घिमिरेले लोकतन्त्रलाई सबै पक्षलाई अनुकरणीय र जनताका लागि सर्वप्रिय प्रणाली स्थापित गर्नेतर्फ सबै तह र तप्कालाई आह्वान गरेका छन् ।

अठारौँ सङ्घीय संसद् सेवा दिवसका अवसमा आज यहाँ आयोजित समारोहमा उनले संविधानले परिकल्पना गरेअनुसार संसदीय ऐन बनाउने काममा तिव्रता दिन सबैको साथ र सहयोग जुटाउन पहलकदमीको आवश्यकता औँल्याए ।

“समयसापेक्ष ऐन निर्माण गरेर त्यसलाई कार्यान्वयन गर्न सबैको साथ र सहयोग जुटाएर पहलकदमी लिन जरुरी छ”, सभामुख घिमिरेले भने । सीमित साधन, स्रोतका बिच पनि संसद् सेवाका कर्मचारीले सम्पादन गरेको कार्यको प्रसंशा गर्दै उनले संसद्को महत्व साकार पार्न सरकारले सहयोग गर्नुपर्नेमा जोड दिए ।

“अपुरा कानुनलाई पूरा गर्ने, आइरहेका चुनौतीलाई सामना गर्नका लागि सुधारका विभिन्न योजना बढाइएको छ, संसद् सेवालाई प्रविधिमैत्री तुल्याउने प्रयत्न भइरहेको छ”, सभामुखले भने, “संसद् सेवालाई प्रभावकारी बनाउन गर्नुपर्ने विभिन्न क्षेत्रका कामहरुका सूची तयार गरौँ, यसलाई प्रभावकारी बनाउन खेल्नुपर्ने भूमिकालाई सिङ्गो सचिवालय एकताबद्ध हुनुपर्छ ।”

संसद्को गरिमालाई उँचो बनाउन गरिएका प्रयत्न र प्रयास अपुग भएका उल्लेख गर्दै सभामुख घिमिरेले जनताको सर्वोच्च संस्था संसदको गरिमा जति बढ्न सक्यो, यसको कामकारबाही त्यति प्रभावकारी हुने विश्वास व्यक्त गरे ।