बामदेवजीले फोन गरेर अध्यक्ष र प्रधानमन्त्रीबाट राजीनामा गर्नु भन्नुभो : ओली

बामदेवजीले फोन गरेर अध्यक्ष र प्रधानमन्त्रीबाट राजीनामा गर्नु भन्नुभो : ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वएमाले नेता वामदेव गौतमसँग फोनसंवादको एउटा किस्सा सुनाएका छन् । एमाले अध्यक्षसमेत रहेका ओली आदिवासी जनजाति महिलाहरूको प्रथम राष्ट्रिय भेलामा बोल्दै आजै उनलाई फोन गरेर गौतमले पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्ने बताए ।

आफूलाई राजेश बज्राचार्य (स्वकिय सचिव) सम्झिएर वामदेवले यस्ताे बताएकाे ओलीले सुनाए । एउटा फेक भिडिओ हेरेर वामदेव जंगिएको उनको भनाइ छ ।

‘अहिले भर्खर गाडीमा आउँदै थिए, वामदेवजीको फोन आयो । फोन राजेशसँग थियो, वामदेवजीको नम्बर देखेपछि मैले उठाएर हेलो भनेँ । कुरा गर्दै गइयो । उहाँले भन्नु थाल्नुभयो– मदन भण्डारी कांग्रेसले मारेको हो, मलाई पहिले नै थाहा थियो, तर म चुप लागेँ… कांग्रेसले मार्छ भन्ने थाहा थियो, कांग्रेसले मार्या हो भन्ने पनि थाहा थियो, तर अब म बुढो भइसकेँ, जेसुकै भएपनि केही छैन, त्यसैले म सबै कुरा भन्दैछु भनेर सबै मेरै स्वरमा छ । कुराको अन्तिममा त तिम्रो ठुलोबालाई भन्देउ, प्रधानमन्त्रीबाट पनि राजीनामा गर्न भन्देउ, अध्यक्षबाट पनि राजीनामा गर्न भन्देउ । यस्तो भनेर पड्किनुभो । हस हजुर भनेँ । अब के भन्नु । हस म भन्दिउँला भनेँ । फोन राखेँ ।’ ओलीले भने ।

कांग्रेस र एमालेबीचमा लडाँइ लगाउने हिसाबले कसैले त्यस्तो भिडिओ बनाएकाे उनकाे भनाइ छ । ‘उहाँलाई समेत भ्रम पर्ने गरी…भ्रम त पर्नु नपर्ने हो किन भने वामदेव गौतमजी र म त एउटै विचारमा नङ र मासु जसरी एउटै यात्रामा हिँडेका साथी हौं । अहिले उहाँलाई के केले छोयो के के भयो म भन्न सक्दिनँ । उहाँले मेरो आवाज युट्यूवमा बोलेको चिन्नुभो, तर म उहाँसँग कुरा गरिराख्या छु, त्यो चाहीँ चिन्नुभएन ।’ उनले भने, ‘कांग्रेस र मेरोबीचमा लडाँइ लगाउने हिसाबले कसैले त्यस्तो भिडिओ बनायो होला ।’

झुटलाई पराजित गरेर अघि बढ्ने पनि उनले बताए ।