विराटनगरलाई एक विकेटले हराएपछि काठमाडौंकाे प्लेअफ सम्भावना कायमै

विराटनगरलाई एक विकेटले हराएपछि काठमाडौंकाे प्लेअफ सम्भावना कायमै



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सविरुद्ध एक विकेटको जित निकाल्दै काठमाडौं गुर्खाजले प्लेअफ पुग्ने सम्भावनालाई कायम राखेको छ ।

आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा विराटनगरले प्रस्तुत गरेको ११८ रनको लक्ष्य काठमाडौंले १८.१ ओभरमा नौ विकेट गुमाएर पूरा गर्यो ।

जितसँगै आठ अंक जोडेको काठमाडौंले प्लेअफ सम्भावनालाई कायम राखेको हो । यद्यपि, काठमाडौंले प्लेअफमा स्थान सुरक्षित गर्न भने सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबीच हुने खेलको नतिजा कुर्नुपर्ने छ ।

अब सोमबार कर्णाली याक्स सुदूरपश्चिमसँग फराकिलो अन्तरले पराजित भएमा मात्र काठमान्डु शीर्ष चारमा पर्ने सम्भावना छ ।

काठमाडौंको जितमा प्रतीक श्रेष्ठले ३९, राशिद खानले १४, गेरहार्ड इरास्मसले १२ र माइकल लेभिटले १० रन बनाए । ११औँ नम्बरमा ब्याटिङका निम्ति आएका दिपेश कँडेलले पाँच बलमा एक चौका र एक छक्कासहित ११ रन बनाएपछि काठमाडौंले एक विकेटको रोमाञ्चक जित निकालेको हो । शंकर राना १६ रनम अविजित रहे ।

यसबाहेक, काठमाडौंका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

काठमाडौंविरुद्ध विराटनगरका कप्तान सन्दीप लामिछानले तीन विकेट लिए । अनिल खरेल, बसिर अहमेद र क्रिस सोलले समान दुई विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङमा आएको विराटनगरले १९.५ ओभरमा सबै विकेट गुमाएर ११७ रनको योगफल खडा गरेको थियो ।

विराटनगरका राजेश पुलामी मगरले सर्वाधिक २५, दीपक बोहराले २०, स्कट एड्वार्ड्सले १५, बसिर अहमेदले १३ र निकोलस किर्टोनले १२ रन बनाए ।

विराटनगरलाई मध्यम योगफलमा रोक्न काठमाडौंका गेरहार्ड इरास्मसले तीन विकेट लिए । दिपेश कँडेलले दुई विकेट लिए । साहब आलम, करण केसी र डान डथवेटले एक–एक विकेट लिए ।

जितसँगै सात खेलबाट आठ अंक जोड्दै काठमाडौंले प्लेअफ सम्भावना जीवित राखेको हो ।

यता, सात खेलबाट चार अंकसहित तालिकाको छैटौँ स्थानमा रहेको विराटनगर भने प्लेअफ समीकरणबाट बाहिरिसकेको छ ।