काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले राजनीति गर्न नभई देश बनाउनका बनेको बताएका छन् ।
आइतवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । उनले भने, ‘यो राजनीति गर्न बनेको पार्टी होइन, देश बनाउन बनेको पार्टी हो ।’
उनले एमाले जन्मैदेखि एउटा महान उद्देश्य काँधमा बोकेर जन्मिएको उल्लेख गरे । देशमा सकारात्मक परिवर्तन ल्याउन र नागरिकलाई अधिकार सम्पन्न बनाउने गरी एमालेले काम गरिरहेको उनले बताए । त्यसैले जनताले परिवर्तनको अनुभूति पाउने गरी काम गर्न प्रधानमन्त्री ओलीले नेता–कार्यकर्ताहरुलाई निर्देशन दिए ।
‘परिस्थितिमा परिवर्तन ल्याउने गरी नै यहाँबाट फर्किएर गएर यसलाई व्यवहारिक, मूर्त रुप दिने काम गर्नु हुनेछ, मैले विश्वास लिएको छु,’ प्रधानमन्त्री ओलीले भने ।
प्रधानमन्त्री ओलीले जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन जस्तो परिस्थिति आउँछ, त्यसैगरी सामना गर्न सक्ने खालको श्रेष्ठता हासिल गर्न कार्यकर्तालाई आग्रह गरे ।
चीनियाँ कम्युनिष्ट पार्टीको सङ्घर्ष, सफलता र हाल चीनको तीव्र आर्थिक विकासलाई दृष्टान्तका रुपमा प्रस्तुत गर्दै अध्यक्ष ओलीले सबै कुरामा तयार भएर जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन लाग्नुपर्ने बताए । पार्टीभित्र वैचारिक स्पष्टता र एकता कायम गरेर समाजवादको यात्रामा अग्रसर हुनुपर्ने बताउँदै उनले कार्यशालामा सहभागी हरेक सदस्यले यसको सन्देश आम जनमसुदायमा सम्प्रेषण गर्न आग्रह गरे ।
चीनियाँ कम्युनिट पार्टीले केही पनि नभएको ठाउँबाट राज्यसत्तामा पुगेर श्रेष्ठता हासिल गर्दै अहिले चीनलाई आर्थिकरुपमा महाशक्ति राष्ट्र बनाएको उदाहरण प्रस्तुत गर्दै अध्यक्ष ओलीले त्यहाँ पार्टी नेतृत्वलाई कुनै पनि नेताले विरोध नगर्ने गरेको स्मरण गराए । चीनले अन्य समाजवादी मुलुकको नक्कल नगरी आफ्नै विशेषताको समाजवादको यात्रा थालेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले एमालेले पनि नेपालमा समाजवाद स्थापनाको लक्ष्यमा आफूलाई अग्रसर गराउँदै आएको जनाए ।
प्रतिक्रियावादीले कम्युनिष्ट पार्टीलाई विभाजन गराएर राज गर्ने नीत लिए पनि पुष्पलालले पार्टी एकताको प्रयास गरेको स्मरण गर्दै अध्यक्ष ओलीले आफूलाई जे लाग्यो त्यही सही भन्ने प्रवृत्तिबाट मुक्त भई सही कुरा अपनाउने र त्यसमा अडिग रहने इमान्दारिता नेता–कार्यकर्तामा आवश्यक हुने बताए ।
प्रतिक्रिया