काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले आगामी निर्वाचनमा देशैभरि पार्टीको उमेदवार खडा गर्ने गरी अघि बढ्ने निर्णय पनि गरेको छ ।
पाँच दिनदेखि जारी स्थायी कमिटी बैठकको निर्णयबारे जानकारी दिँदै उपाध्यक्ष तथा प्रवक्ता जगन्नाथ खतिवडाले भने, “आगामी निर्वाचनमा एकीकृत समाजवादी सशक्त पार्टीको रूपमा उभ्याउने, कलम चिह्नका उमेदवारलाई देशैभरि स्थापित गराउने भन्ने विषयमा छलफल केन्द्रित छ ।”
बैठकले कुनै पार्टीसँग एकताको सम्भावना नरहेको निचोड निकालेको छ । “देशका अन्य कुनै पार्टीसँग एकीकरण, एकता गर्ने सम्भावना आज नरहेको जानकारी गराउन चाहन्छौँ,” खतिवडाले भने, “सहकार्यको सम्भावना सधैँ जीवित हुदाँ राष्ट्रिय एजेन्डामा सहकार्य गर्न तयार छौँ ।”
त्यसैगरी बैठकले जनताका मागलाई जोडेर संघर्षको माध्यमबाट नै पार्टी निर्माण गर्न सकिने निचोड निकालेको छ । “जनताका मागलाई जोडेर जनसंघर्षकै माध्यमबाट पार्टी निर्माण गर्न सकिन्छ । पार्टी पूर्णरूपमा गाउँका जनतासँग साक्षात्कार गर्नुपर्छ भन्ने दिशामा निर्णय केन्द्रित छ,” उनले भने ।
बैठकले ‘आन्दोलनद्वारा पार्टी निर्माण गरिने’ भन्ने कार्ययोजना पारित गरेको छ । बैठक मंगलबार पनि बस्ने र पूर्ण निर्णय सुनाइने उनले बताए । बैठकले केन्द्रीय सदस्यको कार्यविभाजन गर्ने उनले बताए ।
प्रतिक्रिया