भैरहवा । गृहमन्त्री रमेश लेखकले सीमा अपराध, तस्करी पूर्ण रुपमा नियन्त्रण गर्न मातहतका सुरक्षा निकायलाई निर्देशन दिएका छन् । लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई मंगलवार भैरहवामा सम्वोधन गर्दै उनले सीमा अपराध, चोरी तस्करी नियन्त्रणमा कुनै बहानाबाजी स्वीकार्य नहुने बताएका हुन् ।
गृहमन्त्री लेखकले अहिलेको गठबन्धन सरकार मुलुकमा दिगो शान्ति र सुशासन कायम गर्न बनेको दाबी गर्दै गठबन्धन २०८४ को चुनावसम्म कायम रहने बताए ।
‘२०८४ को चुनावसम्म यही गठबन्धन रहन्छ कुनै तल–माथि हुन्न,’ गृहमन्त्री लेखकले भने । अहिलेको संविधानले नागरिकलाई अधिकारसम्पन्न बनाएकाले संविधानको रक्षा महत्वपूर्ण भएको उनको भनाइ छ । संविधानको रक्षा र कार्यान्वयनका लागि शान्ति सुरक्षाको सुनिश्चित हुनुपर्ने गृहमन्त्री लेखकले बताए ।
गृहमन्त्री लेखकले लुम्बिनीमा लागूऔषध, वित्तीय अपराध, आत्महत्या, सवारी दुर्घटना, साइबर क्राइम जस्ता अपराध रहेको औँल्याए । समाजमा द्वन्द्व र अराजकता निम्त्याउने गरी व्यक्तिको चरित्र हत्या र दुष्प्रचार भएको भन्दै गृहमन्त्रीले कानुनी शासनमा भीडले प्रभावित गर्ने प्रयास भएको बताए ।
लुम्बिनी प्रदेश बुद्ध जन्मस्थलका कारण विश्वभरका धार्मिक पर्यटक आउने थलो र विश्व शान्तिको मुहान भएकाले यहाँको सुरक्षा व्यवस्था चुस्त र भरपर्दो हुनुपर्ने उनको भनाइ छ ।
यसअघि सात वटै प्रदेशका आन्तरिक मामिला मन्त्रीहरुसँग छलफल गरेर राय सुझाव लिएको उनले जानकारी दिए । गोष्ठीमा लुम्बिनी प्रदेशका बाह्रै जिल्लाका प्रमुख जिल्ला अधीकारी, तीनवटै सुरक्षा निकायका प्रमुखहरुको सहभागिता छ ।
प्रतिक्रिया