काठमाडौं । विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रिय समितिको अध्यक्षमा अस्मिता भण्डारी सर्वसम्मत निर्वाचित भएकी छन् । विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रियको ११ ओैं महासम्मेलनले भण्डारीलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो । विश्व हिन्दु महासंघ तथा जानकी मन्दिर जनकपुरधामको तत्वाधानमा जानकी मन्दिर प्रांगणमा महासम्मेलन आयोजना गरिएको थियो ।
जानकी मन्दिर जनकपुरधामका महन्त श्रीरामतपेश्वर दास बैष्णव ज्यू प्रमुख संरक्षक रहेको सो सम्मेलनको उद्घाटन प्रमुख अतिथि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र महन्त रामतपेश्वरले संयुक्तरुपमा गरेका थिए ।
हिन्दु अधिराज्यको पुनःस्र्थापना उद्घोष गर्दै शोभा यात्रा जानकी मन्दिरबाट शोभा यात्राले जनकपुर नगर परिक्रमा गरेर महासम्मेलन शुभारम्भ गरिएको थियोे । बिश्व हिन्दु महासंघका अन्तर्राष्ट्रिय शाखाहरु भारत, नेपाल, अमेरिका, बेलायत, अष्ट्रेलिया, थाइल्यान्ड, बंगलादेशलगायतका मुलुकहरुबाट सहभागीता रहेको थियो ।
भारत उत्तरप्रदेश, गोरखनाथ मन्दिरलगायत सबै प्रदेशका अध्यक्षसहित भारत च्याप्टरका सहभागीहरुको उपस्थिति रहेको थियो ।
भण्डारीको अध्यक्षतामा सम्पन्न उक्त महासम्मेलनमा जानकी मन्दिरका उत्तराधिकारी महन्त श्रीराम रोशन दास, राप्रपाका वरिष्ठ नेता उपाध्यक्ष बुद्धिमान तामाङ तथा नेपाल–भारतका दर्जनौँ सन्तगणको उल्लेख्य सहभागिता रहेको थियो ।
महासचिवको प्रतिवेदन, कोषाध्यक्षको प्रतिवेदन लगायत विभिन्न प्रस्तावहरु प्रस्तुत तथा पारित भए पछि बिश्व हिन्दु महासभाबाट अध्यक्ष पदको निर्वाचन सम्मपन्न गर्नका लागि उच्च अदालत पाटनका पूर्व मुख्य न्यायाधीश शम्भुबहादुर खड्काको संयोजकत्वमा, अधिवक्ता सुशीला ढकाल (नेपाल) र एड्भोकेट आर । एन् चौधरी (भारत) निर्वाचन समिति बनाइएको थियो ।
बिश्व हिन्दु महासंघले अध्यक्षमा महासंघको ईतिहासमा पहिलो पटक महिलाको अध्यक्षता प्राप्त गरेको छ। संयुक्त राष्ट्रसंघद्वारा मान्यता प्राप्त नेपालबाट अन्तर्राष्ट्रिय स्तरमा अध्यक्षता गर्ने महिलामा सम्भवतः भण्डारी पहिलो महिला हुन् ।
प्रतिक्रिया