काठमाडौं । गत वर्षको ‘नातिकाजी राष्ट्रिय संगीत सम्मान’ घोषणा भएको छ । यो सम्मान १० स्रष्टा र एक संगीत प्रतिष्ठानलाई प्रदान गरिने भएको छ ।
नातिकाजी स्मृति समाजले आज बुधबार काठमाडौंमा आयोजना गरेको घोषणा कार्यक्रममा विभिन्न स्रष्टा, संगीतकर्मी तथा सञ्चारकर्मीलाई विभिन्न विधामा सम्मान तथा पुरस्कार प्रदान गरिने जानकारी दिइएको हो ।
समाजका अध्यक्ष वरिष्ठ संगीतकार शम्भुजीत बाँस्कोटाले नातिकाजी राष्ट्रिय संगीत सम्मान गीतकार नगेन्द्र थापा, लोकगायक बमबहादुर कार्की, कलाकार धन लामा, संगीत प्रवर्द्धक प्रकाश सायमी, शास्त्रीय संगीतकर्मी ज्ञानुराधा गोर्खाली, गीतकारद्वय बुद्धवीर लामा र किरण केसी (क्रोधी), गायक दिवाकर खड्का र गायिका यशोदा पराजुलीलाई प्रदान गरिने जानकारी दिए ।
साथै संगीत साधना प्रतिष्ठान (इटहरी) र लेखक विमल भौकाजीलाई नातिकाजी राष्ट्रिय योगदान सम्मान प्रदान गरिने उनले बताए ।
राष्ट्रिय संगीत पुरस्कार गायक हिमाल सागर, गायिका विन्दु परियार, गीतकार बी पाण्डे, संगीतकार आशिष अविरल, एरेञ्जर सम्राट थापालाई प्रदान गरिने भएको उनले बताए ।
साथै नातिकाजी राष्ट्रिय प्रतिभातर्फ रेकर्डिस्ट भोला पौडेल, गायक डेभिड शंकर, गायिका स्मिता दाहाल र संगीतकार कल्याण सिंहलाई, शास्त्रीय संगीततर्फ डा. रमेश पोखरेललाई पुरस्कार प्रदान गरिने समाजका अध्यक्ष बाँस्कोटाले उल्लेख गरे ।
राष्ट्रिय लोक संगीततर्फ लोक गायकत्रय रामप्रसाद अवस्थी, सुष्मा शाही ठकुरी र कृष्ण विक, कला र पत्रकारितातर्फ पत्रकारद्वय सुशील अर्याल र सुकृत नेपाललाई पुरस्कार प्रदान गरिने समाजले जनाएको छ ।
नातिकाजीको ९९औँ जन्म जयन्तीका अवसरमा विशेष कार्यक्रम आयोजना गरी विभिन्न स्रष्टा, संगीतकर्मी तथा सञ्चारकर्मीलाई सम्मान तथा पुरस्कार प्रदान गरिने समाजका अध्यक्ष बाँस्कोटाले बताए । नातिकाजी गीत, संगीतको महासागर भएको उल्लेख गर्दै उनको योगदानलाई जीवन्त राख्न समाजले प्रयास गरिरहेको बताए ।
प्रतिक्रिया