लुम्बिनी गुरुयोजना क्षेत्रभित्र रहेका विहार र होटल व्यवसायीबीचको विवाद समाधान

लुम्बिनी गुरुयोजना क्षेत्रभित्र रहेका विहार र होटल व्यवसायीबीचको विवाद समाधान



लुम्बिनी । लुम्बिनीका स्थानीय होटल र लुम्बिनी विहारबीचको विवाद समाधान भएको छ । लुम्बिनी होटल सङ्घ र विहार सञ्चालकबीच हिजो आठ बुँदे सहमति भएसँगै विवाद समाधान भएको हो ।

लुम्बिनी विकास कोषको पहलमा लुम्बिनी होटल सङ्घ, लुम्बिनी सांस्कृतिक नगरपालिका र जिल्ला प्रशासनको संलग्नतामा होटल र विहारका विषयमा देखिएका समस्या समाधान गर्न ‘लुम्बिनी विहार तथा तीर्थयात्री व्यवस्थापन कार्यविधि २०८१’ बनाइएको थियो ।

सांसद वासुदेव घिमिरेको उपस्थितिमा कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामासहित होटल व्यवसायी, विहारका प्रतिनिधिको बैठकले विवाद समाधान गर्दै कार्यविधि कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ ।

लुम्बिनी गुरुयोजना क्षेत्रभित्र रहेका विहार गुम्बामा तीर्थयात्रीलाई होटलमा जस्तै सुविधा दिइएकोजस्ता विषयलाई लिएर ती दुई निकायका बीचमा विवाद हुँदै आएको थियो ।

होटेल व्यवसायी र गुम्बा विहारको विषयले अन्तर्राष्ट्रियस्तरमा समेत नकारात्मक प्रचार हुन नदिन कोषकै नेतृत्वमा लुम्बिनी विहार तथा तीर्थयात्री व्यवस्थापन कार्यविधि २०८१ तयार पारिएको हो ।

कार्यविधिले गुम्बा विहारमा निश्चित सङ्ख्यामा भिक्षु, लामा भन्ते, आर्थिक अवस्था कमजोर भएका तीर्थयात्री र चन्दादातालाई मात्रै राख्ने र होटल व्यवसायीले समेत गुम्बा विहारमा आएका धार्मिक तीर्थयात्रीलाई आत्मिक स्वागत सत्कार गर्ने गरी कार्यविधि तयार पारिएको जनाइएको छ ।