जुम्ला । जुम्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्थायी रूपमा कार्यरत ५८ जना शिक्षक तथा कर्मचारीको स्तरवृद्धि र नियमावलीअनुसारको तलब भत्ता नपाएको विषयलाई लिएर भइरहेको आन्दोलन स्थगित भएको छ ।
उपकुलपतिबाट माग सम्बोधन गर्ने लिखित प्रतिबद्धता प्राप्त भएपछि हिजोदेखि आन्दोलनका सबै कार्यक्रम स्थगन गरेको आन्दोलनरत शिक्षक तथा कर्मचारीले बताएका छन् ।
प्रतिष्ठानका शिक्षक र कर्मचारीको स्तरवृद्धि र तलब भत्ताको विषयमा गएको भदौ २६ गते उच्च अदालत सुर्खेत जुम्ला इजलासबाट कर्मचारीको पक्षमा फैसला भएको थियो ।
फैसला कार्यान्वयन नभएको भन्दै कर्मचारीले गएको कात्तिक २६ गतेदेखि विभिन्न दबावमूलक कार्यक्रम गरिरहेका थिए । माग सम्बोधन गर्नेे लिखित प्रतिबद्धता प्राप्त भएपछि आन्दोलन स्थगित गरेर कर्मचारीहरू नियमित काममा फर्किएका छन् ।
प्रतिक्रिया