कुनै पनि हालतमा वर्तमान सरकार टिक्नुपर्छ : शेखर कोइराला

कुनै पनि हालतमा वर्तमान सरकार टिक्नुपर्छ : शेखर कोइराला



कैलाली । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले वर्तमान सरकार राजनीतिक स्थायित्वका लागि बनेको बताएका छन् ।

नेपाल प्रेस युनियन कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले संविधान संशोधन, स्थायित्व, आर्थिक अवस्था सुधार, विकास र सुशासनका लक्ष्यसहित सरकार बनेको बताए ।

नेता डा कोइरालाले सो लक्ष्यअनुसार सरकारले जुनसुकै अवस्थामा पनि काम गर्नुपर्ने सुझाव दिए । “यो अन्तिम विकल्पको सरकार हो । संसदका दुई ठूला दल मिलेर बनेको सरकारले पनि काम गर्न नसके देशमा अराजकता निम्तिन्छ भनेर धेरै विद्वानहरूले सचेत गराइराखेका छन् । हामीले पनि आफ्नो तर्फबाट यही कुरा भनिराखेका छौँ । अहिलेको सरकारलाई असफल हुने छुट छैन”,उनले जोड दिएर भने, “कुनै पनि हालतमा अहिलेको सरकार अगाडि जानुपर्छ । आफ्नो म्यान्डेड पूरा गर्नुपर्छ ।”

नेता डा कोइरालाले कांग्रेस र एमाले मिलेर मात्र संविधान संशोधन नहुने भएकाले अन्य सबै राजनीतिक दलबीच बृहत् समझदारी गरेर निष्कर्षमा पुग्नुपर्नेमा जोड दिए ।