माओवादीले माग्याे लेखा समिति सभापतिको राजीनामा

माओवादीले माग्याे लेखा समिति सभापतिको राजीनामा



काठमाडौं । नेकपा माओवादीका सांसद अमनलाल मोदीले सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलको राजीनामा मागेका छन् । साेमबार सार्वजनिक लेखा समितिकाे बैठकमा बाेल्दै सांसद माेदीले यस्ताे माग गरेका हुन् ।

सांसद अमनलाल मोदीले सहकारी ठगीमा समिति सभापतिमाथि प्रश्न उठेको भन्दै मार्गप्रशस्त गर्न आग्रह गरेका हुन् । ‘सहकारीको कुरामा तपाईंको परिवारसँग जोडिएको छ । तपाईं माथि प्रश्न उठेको छ,’ उनले भने, ‘समितिकै सभापतिमाथि प्रश्न उठेपछि केही न के केही बोल्नुपर्छ, जवाफ दिनुपर्छ ।’

सार्वजनिक लेखा समिति चेक एण्ड ब्यालेन्समा चल्नुपर्ने उनको माग छ । ‘सरकारको छाया लेखा समिति त होइन ? भन्ने प्रश्न उठेको छ,’ उनले थपे, ‘तपाईंको परिवार, तपाईंमाथि प्रश्न उठेको छ । मार्ग प्रशस्त गरेको नै राम्रो हो ।’

त्यसैगरी एमालेका सांसद योगेश भट्टराईले लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी श्रीमती अन्जला कोइराला अदालतमा उपस्थित हुनुपर्ने बताएका छन् ।

मोरङ धनपालथानस्थित उमागौरी कृषि सहकारी ठगी प्रकरणमा जोडिएकी उनीविरूद्ध पक्राउ पुर्जी जारी भए पनि फरार छिन् । सोमबारको समितिको बैठकमा बोल्दै सांसद भट्टराईले भने, ‘समितिका सभापतिको श्रीमती फरार रहेको कुरा आइरहेका छन् । अदालतमा उपस्थित हुन राम्रो हुन्छ, यो समिति सुशासन र चेक एण्ड ब्यालेन्सका लागि पनि बनेकोले आर्थिक रूपमा प्रष्ट हुनुपर्छ । यो स्पष्टीकरण दिने फोरम त होइन तर यसबारे प्रष्ट बनाइदिनुस् ।’

‘अरू चिच्याउँदै हिँडे भनेर हामीले त्यसो गर्ने होइन, न्यायिक निरूपण हुने निकायमा जानुपर्छ, उहाँ पक्कै अदालतमा उपस्थित हुनुहुन्छ,’ उनले भने ।