समावेशितालाई थप सुदृढ गर्न संविधान संशोधन : गृहमन्त्री लेखक

समावेशितालाई थप सुदृढ गर्न संविधान संशोधन : गृहमन्त्री लेखक



काठमाडौं । गृहमन्त्री रमेश लेखकले संविधान संशोधन समावेशितालाई कमजोर गर्ने नभइ थप सुदृढ गर्नका लागि हुने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले संविधान संशोधनको विषय छलफलमा अघि बढाउन प्रारम्भ गरेको जानकारी दिए । उनले संविधानका १० वर्षको अभ्यासका दौरानमा देखिएका संविधानका सबल र दुर्बल पक्षको समीक्षा गरेर मात्रै संविधान संशोधन हुने बताए ।

गृहमन्त्री लेखकले भने, ‘हामीले संविधान संशोधनको विषयलाई छलफलमा अघि बढाउन प्रारम्भ गरिसकेका छौँ । हामी संविधानका १० वर्षको अभ्यासका दौरानमा देखिएका संविधानका सबल र दुर्बल पक्षको समीक्षा गर्नेछौँ । संविधानमा समसामयिक रूपले परिमार्जन गर्नेछौँ । तर संविधानको संशोधन कुनै एउटा पार्टी वा दुई वटा पार्टीको निर्णयले हुँदैन । हामी तत्कालै केही दिनपछि नेपाली कांग्रेस र नेकपा एमालेको जो दुई ठूला पार्टी सरकारमा छौँ । दुवैको एउटा संयुक्त, कार्यदल बनाएर पनि संविधान संशोधनको छलफलको प्रक्रियालाई प्रारम्भ गर्दैछौँ ।’

उनले संविधानमा समसामयिक रूपले परिमार्जन गर्ने तर संविधानको संशोधन कुनै एउटा पार्टी वा दुई वटा पार्टीको निर्णयले नहुने जानकारी दिए । उनले केही दिनपछि नै नेपाली कांग्रेस र नेकपा एमालेले संयन्त्र बनाइ संविधान संशोधनको पहल सुरु गर्ने धारणा व्यक्त गरे । सबै राजनीतिक दलहरूसँग वार्ता र संवाद गरी विषयवस्तुहरूमा सहमति गरेर अनिमात्रै संविधान संशोधन हुने उनको भनाइ छ ।

‘कांग्रेस र एमालेले मात्रै संविधान संशोधन गरेर संविधान संशोधन हुँदैन । दुई वटै पार्टी मिलेर गरेर पनि हुँदैन । हामी छलफल प्रारम्भ गर्दछौँ, संविधानको समीक्षा गर्छौं । विषयवस्तुहरूको पहिचान गर्दछौँ । हामी चरणवद्ध रूपमा यसलाई अघि बढाउँछौँ ।,’ गृहमन्त्री लेखकले भने, ‘सबैभन्दा पहिला संविधानको १० वर्षको अभ्यासको समीक्षा गर्छौं । विषयहरूको पहिचान गर्छौं । अर्को चरणमा सबै राजनीतिक दलहरूसँग वार्ता र संवाद गर्छौं । त्यसपछि विषयवस्तुहरूमा सहमति गरेर अनिमात्रै संविधान संशोधन हुन्छ । त्यसमा समय लाग्छ । भोलिको पर्सि संविधान संशोधन हुने होइन । संविधान संशोधन गर्ने भनेको समावेशितालाई कमजोर गर्ने होइन, थप सुदृढ बनाउने हो ।’