पोखरा । सहकारी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेको बयान सुरु भएको छ ।
गोरखा मिडिया नेटवर्कका पूर्वप्रबन्ध निर्देशकसमेत रहेका लामिछानेको बयान कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा बिहीबार दिउँसोबाट सुरु भएको सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।
यसअघि पूर्वडिआइजी छविलाल जोशी र लिला पछाईको वयान सकिएको हो । रामबहादुर खनाल, पुर्वसांसद मिना गुरुङसहित ४ जनाको वयान लिन बाकी छ ।
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा आइतबार ४४ जनाविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले अभियोगपत्र दर्ता गराएपछि सोमबारबाट बयान सुरु भएको थियो ।
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा ३१ व्यक्ति, आठ कम्पनी र जफत प्रयोजनका लागि पाँच व्यक्ति गरी ४४ जनाविरुद्ध अभियोगपत्र दायर भएको छ । गोरखा मिडिया नेटवर्कका पूर्व प्रबन्ध निर्देशकसमेत रहेका लामिछानेसहित पूर्वउपाध्यक्ष छविलाल जोशी, कर्मचारी लीला पछाई, कृष्णबहादुर गुरुङ, रामबहादुर खनाल, मीना गुरुङ र आरती गुरुङ अहिले कास्की प्रहरीको हिरासतमा छन् ।
सूर्यदर्शन सहकारीमा पूरक र थप सबै गरी ६३ जना प्रतिवादी कायम भएका छन् । सम्पत्ति शुद्धिकरणमा लामिछानेविरुद्ध २७ करोड ८९ लाख ४४ हजार सात सय पाँच रुपियाँको मागदाबी लिइएको छ । अभियोगपत्रमा एक अर्ब ५१ करोड ४० लाख १९ हजार एक सय ९४ रुपियाँ बिगो मागदाबी लिइएको छ ।
प्रतिक्रिया